
काठमाडौं, १६ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको बताउनु भएको छ ।
अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारवाही हुने गृहमन्त्री लामिछानेले बताउनुभयो । गृहमन्त्री लामिछानेले नेपालको सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको उच्चस्तरिय प्रतिनिधिमण्डलसंग छलफलको क्रममा उक्त कुरा बताउनु भएको हो । साथै उहाँले सहकारी अभियानको माग सम्वन्धमा आवश्यक अध्ययन गरी गृहमन्त्रालयबाट परिपत्र गर्ने आश्वासन समेत दिनुभयो ।
सहकारी अभियानको तर्फबाट महासंघका अध्यक्ष मल्लले सहकारी संघ संस्थाको ऋण असुली तथा धितो लिलाम प्रकृयामा अराजक समूहले अवरोध पुर्याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको लागि गृहमन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो । साथै सहकारी संस्थाको ऋण तिर्नुपर्दैन भनी केही अराजक समूहबाट भ्रम फैलाईएको, ऋण असुलीमा जाने कर्मचारीमाथि गालीगलौज, धम्की प्राप्त भएको, धितो लिलामी प्रकृयामा अवरोध सिर्जनालगायतका कार्यले सहकारी संघ संस्थाको चालू आर्थिक वर्षको खातावन्दीमा नकारात्मक असर परेको भन्दै आवश्यक सुरक्षा व्यवस्थाका लागि मन्त्रालयबाट परिपत्र गरी दिन माग राख्नु भएको थियो ।
महासंघका निवर्तमान अध्यक्ष मीनराज कंडेलले सहकारी संघ संस्थालाई राजस्व तिर्नुपर्दैन जस्ता गम्भीर विषयमा अराजक समूहबाट भ्रम सिर्जना गरेको हुँदा राज्यले तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष डीवी बस्नेत, संचालक काशिचन्द्र बराल, महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांङ सुव्वाको सहभागिता रहेको थियो भने छलफलमा क्रममा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्र ढकाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी क्षेत्रको समस्या समाधानका लागि गर्नुपर्ने विषयमा कुरा राख्नु भएको थियो ।








प्रतिक्रिया