१९ असार २०८३, शुक्रबार

कोपा अमेरिका : एक खेल अगावै उरुग्वे क्वाटरफाइनलमा

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । कोपा अमेरिकामा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियामाथि ५–० को एकतर्फी जित निकालेको उरुग्वे एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्टार खेलाडी लुई सुवारेजलाई अन्तिम केही मिनेटमात्रै मैदान उतारेको उरुग्वेको प्रदर्शन उत्कृष्ट रह्यो ।

न्यु जर्सीमा भएको खेलमा फुकान्डो पेलिस्ट्रीले आठौं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । अधिकांश समय आफ्नो नियन्त्रणमा बल राखेको उरुग्वेले २१औं मिनेटमा दोस्रो गोल गरेको थियो ।
डार्विन नुनेजले अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरेको उरुग्वेले दोस्रो हाफमा अरु ३ गोल थपेको थियो । ७७औं मिनेटमा म्याक्सिमिलानो अरुगोले गोल गर्दै अग्रता तेब्बर बनाए ।

८१औं मिनेटमा फेडरिको भालभार्डेले गोल गरेपछि उरुग्वे ४–० ले अघि बढेको थियो । फराकिलो जिततर्फ अग्रसर उरुग्वेका लागि ८३औं मिनेटमा सुवारेज नुनेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।

८९औं मिनेटमा रोड्रिगो बेन्टानकुरले गोल गरेपछि जारी कोपामा उरुग्वेले सर्वाधिक फराकिलो ५–० को जित दर्ता गर्न सफल भयो । जितसँगै उरुग्वे ६ अंकका साथ शीर्ष स्थानमा रहँदा अमेरिका र पानामा समान तीन तीन अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

लगातार दुई खेलमा पराजित भएको बोलिभिया भने अंकविहीन हुँदै पुच्छारमा रहेको छ । अब समूह चरणको अन्तिम खेलमा अमेरिका र उरुग्वे भिड्दा बोलिभिया र पानामा आमने सामने हुने छन् । समूह चरणको अन्तिम खेल जुलाई २ तारिखमा हुने छ ।