
काठमाडौं, ११ असार । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सहआयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आइतबार बेलुका सम्पन्न भएको छ । महोत्सवमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा महोत्सवमा सहभागी चलचित्रहरु मध्य उत्कृष्ट चलचित्र तथा कलाकार प्राविधिकलाई पुरस्कार प्रदान गर्दै आइतबार साँझ यो महोत्सव सम्पन्न भएको हो । विजेताहरुलाई कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गर्नुभयो ।
महोत्सवमा अफ्रिकाबाट सहभागी चलचित्रहरु मध्य उत्कृष्ट अफ्रिकन कथानक चलचित्रको अवार्ड रामदान सुलेमान निर्देशित साउथ अफ्रिका/मोजाम्बिया/जिम्बाबेको चलचित्र ‘फुल’ले जितेको छ । महोत्सवमा उत्कृष्ट अफ्रिकन वृत्तचित्रको अवार्ड तान्जानिया/टर्कीको वृत्तचित्र ‘ह्वाईट पोजन’ले प्राप्त गर्यो भने उत्कृष्ट लघु चलचित्रको अवार्ड क्यामरुनको लघु चलचित्र ‘सर्भाईभर’ले हाँसिल गर्यो ।
महोत्सवमा जुरी अवार्ड क्यामरुनको लघु चलचित्र अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले हाँसिल गर्नुभयो भने स्पेशल मेनसन अवार्ड जमैकाको लघु चलचित्र ‘इग्नोरेन्स इज अ लाइफस्टाईल’ले प्राप्त गर्यो ।
अफ्रिकन तर्फको निर्णायकमा नेपालबाट पत्रकार तथा वृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसी, निर्माता रौनकबिक्रम कँडेल, भारतबाट चलचित्रकर्मी राहुल बर्मा र बंगलादेशबाट चलचित्रकर्मी महम्मद शाहरियर कमल हुनुहुन्थो ।
यस्तै, नेपाली कथानक चलचित्र विधामा गोर्खा वारियर उत्कृष्ट चलचित्र बन्न सक्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जित्नुभयो । उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र सरी मम्बाट सरिता लामिछानेले, यही चलचित्रबाट अभिनेता जुरी अवार्ड प्रभात पाल ठकुरीले, संगीतकारको अवार्ड चलचित्र काँडेतारबाट दिपक शर्माले, गायिकाको अवार्ड काँडेतारबाटै सत्यकला राई र गायकको अवार्ड चलचित्र शिरफुलबाट आर्जन पाण्डेले प्राप्त गर्नुभयो ।
यस्तै, उत्कृष्ट वृत्तचित्र निर्देशकको अवार्ड यसपालीको काँचो बायुबाट भिमा मैनाली र बृत्तचित्र छायाँकारको अवार्ड जर्नी टु गोक्योबाट राजन खरेलले प्राप्त गर्नुभयो ।
यस्तै, आदिवासी चलचित्र तर्फ उत्कृष्ट अदिवासी चलचित्रको अवार्ड लोजिमाले, यही चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड बिमला लिम्बुले, सहअभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गर्नुभयो । उत्कृष्ट आदिवासी अभिनेताको अवार्ड चलचित्र सनाखतबाट धिरने शाक्यले हाँसिल गर्नुभयो ।
यस्तै, जुरी अवार्ड चलचित्र लिम्बु चलचित्र रितले, उत्कृष्ट निर्देशकको अवार्ड रितबाटै दिनेश लिङदेनले प्राप्त गर्नुभयो । नेपाली चलचित्र, आदिवासी चलचित्र तथा वृत्तचित्रको निर्णायकमा अभिनेता वीरेन्द्र हमाल, पत्रकार प्रदिप कार्की, गायक ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल हुनुहुन्थो ।
महोत्सवमा लघु चलचित्र तथा सांगीतिक लघु चलचित्रतर्फ उत्कृष्ट लघु चलचित्र निर्देशकको अवार्ड घटेरोबाट पुरुषोत्तम बस्नेतले, लघु चलचित्र अभिनेत्रीको मातृत्वबाट सिर्जना अधिकारीले, उत्कृष्ट पटकथाको अवार्ड लघु चलचित्र धुकधुकीबाट तारा अधिकारीले, उत्कृष्ट छायांकारको अवार्ड लघु चलचित्र रोटेन ब्लडबाट रविन आचार्यले र उत्कृष्ट लघु सांगीतिक चलचित्र संगीतकारको अवार्ड शंकर थापा ‘स्माईल’ले हाँसिल गर्नुभयो । यो समूहको निर्णायकमा गायक हिमाल श्रेष्ठ, मोडलद्धय प्रतीक्षा काफ्ले र सजिना लामिछाने हुनुहुन्थो ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै यो महोत्सवले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोडेको बताउनुभयो । उहाँले यो महोत्सवलाई राज्यबाट सहयोगको लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अग्रज अभिनेत्री बसुन्धरा भुसालले अघिल्लो वर्ष लघु चलचित्र अभिनेत्रीको अवार्ड आफू जितेको र नेपालको एउटा राम्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको रुपमा आफूले यसलाई हेरेको बताउनुभयो । महोत्सव निर्देशक डब्बु क्षत्रीले महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सपना अनुसार १३ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको जानकारी गराउनुभयो ।
अफ्रिकन फिल्मका जुरी प्रमुख गणेश पाण्डे र नेपाली चलचित्रका जुरी प्रमुख वीरेन्द्र हमालले चलचित्र चयनको प्रक्रियाबारे प्रकाश पार्नुभयो । महोत्सवमा वीरेन्द्र हमालको प्रशिक्षणमा तीन दिनसम्म अभिनय प्रशिक्षण लिएका विधार्थीलाई समारोहमा प्रमाणपत्र प्रदान गरिएको थियो ।








प्रतिक्रिया