
काठमाडौं, १० असार । सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहनेगरी सञ्जिब कुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मलेनमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिनु भएको हो । त्यस्तै, सरकारले आजदेखि बुधबारसम्म काठमाडौंमा हुने नेपाल र चीनबीच द्धिपक्षीय परामर्श संयन्त्रको सोह्रौं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरि उक्त बैठकको कार्यसूची स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
मन्त्री शर्माले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा धादिङमा १५ सैय्याको अस्पतालको भवन निर्माण, यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासको भवन निर्माण र सरावन गाउँपालिकाको वडा कार्यालय तथा प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृती दिने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठलाई वैदेशीक भ्रमणका लागि स्वीकृत दिएको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा असार १४ देखि २० गतेसम्म गणतन्त्र कोरियाको सियोलमा आयोजना हुने कार्यक्रमकालागि युवा तथा खेलकुदमन्त्रीको वैदेशीक भ्रमण स्विकृत गर्ने निर्णय गरेको छ ।’
त्यसैगरी, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरेको हो ।
‘मुख्य सचिवविरुद्ध मुद्दा दर्ता भएसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्तपदमा सरुवा गर्ने निणर्य भएको छ’, शर्माले भन्नुभयो ।









प्रतिक्रिया