१ असार २०८३, सोमबार

प्रवासी नेपाली संघ भारतको चौथो बैठक सम्पन्न, कसले के भने ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । प्रवासी नेपाली संघ भारत केन्द्रीय कमिटीको चौथो बैठक आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

बैठकलाई पार्टी केन्द्रीय कार्यालयबाट नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

बैठकको आरम्भमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मूलतः भारत प्रवासमा रहेको नेपाली समुदायमा आधारित यस संगठनले सोही समुदायका मुद्दाहरूमा केन्द्रीत रहेर आफ्ना गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालीहरू स्वदेश वा प्रवास जहाँ रहे पनि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता र देशको भौगोलिक अखण्डताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताउनुभयो । उहाँले रोजगारीलगायत विभिन्न कारणले प्रवासमा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनीहरूलाई देशभक्तिपूर्ण भावनाबाट निर्देशित भइरहन आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासमा रहेर पनि विगतमा देशमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरूमा प्रवासी नेपालीले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै त्यस ऐक्यबद्धता, समर्थन र सहयोगप्रति आभार प्रकट गर्नुभयो ।उहाँले बैठक निर्धारित कार्यसूचिमा जीवन्त र उपयोगी हिसावले छलफल गरी आवश्यक निर्णय लिन सकोस् भनी सफलताको शुभकामना दिनुभयो ।

बैठकमा महासचिव शंकर पोखरेलले मुलुकको वर्तमान परिवर्तित राजनीतिक परिस्थिति, पार्टीको अबको कार्यभारलगायत विषयमा जानकारी गराउँदै प्रवासी नेपालीहरूको भूमिकाका बारेमा मार्गनिर्देश गर्नुभएको थियो ।

महासचिव पोखरेलले आगामी २०८४ मा हुने निर्वाचनमा पार्टीलाई बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउने लक्ष्यका साथ वर्तमान सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म पुर्‍याउने योजना रहेको जानकारी गराउनुभयो ।

प्रवासमा रहेका नेपालीहरूको विगतमा देशमा भएका राजनीतिक परिवर्तनका महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै महासचिव पोखरेलले अब आर्थिक क्रान्तिमार्फत् देश निर्माण गर्ने परिवर्तित कार्यदिशामा पनि प्रवासी नेपालीहरूले योगदान पुर्‍याउने अपेक्षा गर्नुभयो ।

महासचिव पोखरेलले प्रवासी नेपाली संघ भारतले भारतमा व्यापार, व्यवसाय, रोजगारी, अध्ययनलगायत विभिन्न क्षेत्रमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई संगठित गरी सञ्जाल निर्माण गर्न र उनीहरूको सुरक्षा र संरक्षण अग्रणी र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

प्रवासी नेपाली संघ, भारत, केन्द्रीय कमिटीका अध्यक्ष नारायण होमागाईंको अध्यक्षतामा भएको बैठकमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरेले पनि बैठकका छलफलका विषयवस्तुलगायत विषयमा बोल्नुभएको थियो ।