
काठमाण्डौं, ९ असार । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गर्नुभएको थियो ।
मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरु रहेको एनसेलको ‘सधै अन’ योजनाअन्तर्गत गरिएको यस सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकमा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको मोबइल बैकिङ्ग एप एमबीएल एम–स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरु खरिदका लागि भुक्तानी गर्न सक्नेछन् ।
यसैगरी, एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरुले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई अहज बनाउँदै सधै अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंकले लिएको छ । एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।
माछापुच्छ्रे बैंक नगदरहित बैकिङ्गलाई बढावा दिदैँ पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढी रहेको छ । फरक–फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधै तत्पर रहँदै आएको बैंकले जनाएको छ ।








प्रतिक्रिया