६ असार २०८३, शनिबार

‘घनश्याम कँडेलको साहित्यसाधना’ सार्वजनिक

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । प्राध्यापक घनश्याम कँडेलको जीवनी, व्यक्तित्व, कृतित्व आधारित ‘घनश्याम कँडेलको साहित्यसाधना’ शीर्षकको ग्रन्थ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा ग्रन्थको लोकार्पण गरिएको हो ।

जीवनवृत्तमा घनश्याम कँडेल, परिवार र स्वजनका दृष्टिमा घनश्याम कँडेल, समालोचनामा घनश्याम कँडेल, अन्तर्वार्तामा घनश्याम कँडेल, भूमिकाहरूमा घनश्याम कँडेल, घनश्याम कँडेलका आफ्ना भनाइहरू, घनश्याम कँडेलका दृष्टिमा विशिष्ट समालोचकहरू, सम्मान तथा तस्वीरमा घनश्याम कँडेल जस्ता शीर्षकहरू छन् । ग्रन्थको सम्पादन डा. यज्ञेश्वर निरौलाले गर्नुभएको हो।

वरिष्ठ समालोचक प्राध्यापक डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा ग्रन्थमाथि समालोचक प्रा.डा. रामप्रसाद ज्ञवाली र गीता त्रिपाठीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, कवि देवी नेपाल, समालोचक पशुपति नेउपाने, सम्पादक निरौलालगायतले कँडेलको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।

त्रिवि नेपाली केन्द्रीय विभागबाट सेवा निवृत्त कँडेलका सिर्जना र समालोचना गरी १४ वटा कृति प्रकाशित छन् ।

अंग्रेजी, नेपाली र संस्कृत भाषाको गहन अध्येता कँडेलले आधा दर्जन खण्डकाव्य लेख्नुभएको छ । तीमध्ये ‘धृतराष्ट्र’ खण्डकाव्यले २०७३ सालको मदन पुरस्कार पाएको थियो । केही अन्वेषण : केही विश्लेषण, पाश्चात्य यथार्थादी नाटक, स्वच्छन्द विचरण कँडेलका समालोचनात्मक कृति हुन् ।