३० असार २०८३, मंगलबार

भन्सार कर्मचारीको लापरवाही: १४ लाख रकमसहित पक्राउ परेका भारतीय नागरिक फरार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ७ असार । रौतहटस्थित जिल्ला भन्सार कार्यालय गौरको लापरवाहीले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित पक्राउ गरेको एकजना भारतीय नागरिक फरार भएका छन् ।

भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० बर्षीय गजेन्द्र राय यादव बिहीवार साँझ भन्सार कार्यालय गौरबाट फरार भएका हुन् । सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंका अनुसार स्रोत नखुलेको रकम सहित पक्राउ परेका भारतीय नागरिकलाई बरामद रकम सहित भन्सार कार्यालयमा बुझाएपछि भागेका हुन् ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा बाट गएको टोलीले भन्सार कार्यालय गौरमा बिहीवार १ बजेर ४५ मिनेटमा मुदा नम्बर ७७१ दर्ता गरेर बरामद रुपैया १४ लाख ८५ हजार सहित भारतीय नागरिक लाई बुझाएको एसपी हुमागाईले बताउनुभयो । तर पक्राउ परेका भारतीय नागरिक ५ बजेपछि भागेको भन्सार कार्यालयका कर्मचारीले आफूलाई खबर गरेको हो । ‘प्रहरीले बरामद गरेको सामान मानिस भन्सारमा दर्ता गरेर बुझाइसके पछि त्यसको सुरक्षा गर्नु भन्सारको जिम्मेवारी हुन्छ । दुई बजे पैसा र मानिस बुझाउँदा तीन घन्टा सम्म भन्सार कर्मचारी तथा भन्सार सुरक्षा गार्ड के हेरेर बसेको थियो,’ एसपी हुमागाईंले भन्नुभयो ।

उता जिल्ला भन्सार कार्यालय गौरका प्रमुख अमिन्द्र सिंहले स्रोत नखुलेको पैसा बुझ्नु अघि धेरै प्रक्रिया पूरा गर्नुपर्ने र त्यही प्रक्रियामा लागेका बेला भागेका बताउनु भएको छ । पैसा र मानिस लिएर आएका तथा त्यहाँ खटिएका सशस्त्र प्रहरीको ड्युटी बदले पछि उनीहरु त्यहाँबाट गएलगत्तै त्यहाँबाट आरोपी भागेको उहाँको भनाइ छ ।

सिंहले भन्सार कर्मचारीको मात्रै नभई सशस्त्र प्रहरीको पनि कमजोरीको कारण भारतीय नागरिक भाग्न सफल भएको भन्सार प्रमुख सिंहले आरोप लगाउनुभयो ।