२९ आश्विन २०८३, बिहिबार

युरो कप २०२४ :  क्रोएसियाविरुद्ध स्पेनको सहज जित, इटालीसँग अल्बानिया २-१ ले पराजित

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । युरो कप फुटबलमा स्पेनले क्रोएसियामाथि सहज जित निकालेको छ । जर्मनीमा जारी प्रतियोगिताअन्तर्गत समूह ‘बी’को पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

शनिबार राति भएको खेलमा स्पेनलाई जिताउन अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले एक-एक गोल गरेका थिए ।

२९औं मिनेटमा मोराटाले फाबियनको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ३२औं मिनेटमा पेड्रिको पासमा फाबियनले गोल गरेपछि स्पेनको अग्रता दोब्बर भएको थियो । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा डानी कार्भाजलले लामिने यामलको पासमा गोल गरेपछि ३-० को सहज अवस्थामा स्पेन पुगेको थियो ।

दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि अन्ततः स्पेनले ३-० को सहज जित दर्ता गर्न सफल भयो । जितसँगै समूह ‘बी’मा ३ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ ।

यही समूहमा रहेको डिफेन्डिङ च्याम्पियन इटालीले पनि विजयी सुरुआत गरेको छ । युरोमा डेब्यु गरेको अल्बानियालाई इटालीले २-१ गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको पहिलो मिनेटमै अल्बानियाले अग्रता लिएर सनसनी मच्चाएको थियो ।

अल्बानियाका नेदिम बज्रामीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ११औं मिनेटमा इटालीले बराबरी गर्दै आफूलाई खेलमा फर्कायो । इटालीका लागि एलेजान्द्रो बास्टोनीले लोरेन्जो पेलिग्रिनीको पासमा गोल गर्दै बराबरी गरेका थिए ।

१६औं मिनेटमा निकोलो बरेलाले गोल गरेपछि इटाली २-१ ले अघि बढेको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै इटालीले ३ अंक जोड्न सफल भयो । इटाली समूह ‘बी’मा दोस्रो स्थानमा छ ।

समूह ‘ए’को अर्को खेलमा स्वीट्जरल्याण्डले हंगेरीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

युरो कपअन्तर्गत आइतबार पनि तीन वटा खेल हुने छन् ।

समूह ‘डी’को पोल्याण्ड र नेदरल्याण्डले नेपाली समयअनुसार राति पौने ७ बजे खेल्ने छन् ।

त्यसैगरी, समूह ‘सी’का स्लोभाकिया र डेनमार्कले पौने १० बजे खेल्दा राति पौने १ बजे यही समूहका सर्विया र इंग्ल्याण्ड आमने सामने हुने छन् ।