
काठमाडौं, १ असार । निर्माणको तयारीमा रहेको फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित हुनुभएको छ । सम्राट बस्नेतको निर्देशन रहने फिल्मका लागि जितु र निर्माण पक्षबीच शुक्रबार कागजी सम्झौता भएको छ ।
यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसक्नुभएको छ । फिल्ममा राजिब गुरुङ ‘दीपक मनाङ्गे’ प्रस्तुतकर्ता हुनुहुन्छ ।
जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू उत्साहित भएको बताउनुभयो । ‘फिल्म ‘ज्वाइँ साब’को सेटमै आएर हस्ताक्षर गराउनु भयो, यो मेरा लागि अझ खुशीको कुरा हो ।’ उहाँले भन्नुभयो ।
यसअघि फिल्म ‘लाखे’ निर्देशन गर्नुभएका बस्नेतले ‘कङ्गारु’ सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने बताउनुभयो ।
लोकेसन हेर्नका लागि अष्ट्रेलियामा रहनुभएका निर्देशक बस्नेतले यसै हप्ता नायिका फाइनल गरेसँगै छायांकनमा जाने बताउनुभयो ।
३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरालगायतका क्षेत्रमा गरिनेछ ।
निर्देशक बस्नेतले स्क्रिप्टमा दुई वर्ष समय लागेकाले नयाँ कथा दर्शकले पाउने दाबी गर्नुभयो ।
यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रालिको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रुपमा हुनुहुन्छ ।
फिल्मको सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई हुनुहुन्छ भने कार्यकारी निर्माता टीका भण्डारी हुनुहुन्छ । फिल्मको लाइन प्रोड्यूसरमा सविन ज्ञवाली (अष्ट्रेलिया) रहनुभएको छ ।
फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।
फिल्ममा सीमा गुरुङको कथा रहेका छ । फिल्मका छायांकार सुशन प्रजापति हुनुहुन्छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त हुनुहुन्छ ।









प्रतिक्रिया