१ श्रावण २०८३, शुक्रबार

कांग्रेस आफ्नै असक्षमताका कारण थङथिलो भयो : उपेन्द्र यादव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस आफ्नै असक्षमताका कारण थङथिलो भएको टिप्पणी गर्नु भएको छ ।

जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन पेश गर्दै कांग्रेस बारे कडा टिप्पणी गनु भएको हो । राष्ट्रिय महाधिवेशन बन्द सत्रमा अध्यक्ष यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसको शासनकालमा कैयौं भ्रष्टाचारका प्रकरण भएको, पहिचानसहितको संघियता कार्यान्वयन कांग्रेसकै कारणले हुन नसकेको, आर्थिक उदारीकरणका नाममा उद्योग बेचेको लगायतका आरोप लगाउनु भएको छ ।

उहाँले प्रतिवेदनमा भन्नुभएको छ, ‘कांग्रेसको शासनकालमा लाउडा, घमीजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भए तर कहिल्यै विश्वसनीय छानबिन भएन। सुशासनको सवालमा यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ। प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ।’

कांग्रेस संवैधानिक राजतन्त्रको पक्षधर भएपनि लतारिएर गणतन्त्रसम्म आएको उल्लेख गर्दै यादवले कांग्रेस उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा रहेको दाबी गर्नुभएको छ । यादवले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक संसदको व्यवस्था हुन नसक्नुमा पनि कांग्रेसनै दोषी भएको उल्लेख गर्नुभयो । त्यस्तै अध्यक्ष यादवले सङ्घीय प्रणालीको सही मोडल अर्थात् पहिचानमा आधारित स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा कांग्रेसकै भूमिका रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय उद्योगधन्दाहरू समाप्त पार्ने, कृषि अनुदान कटौती गर्ने, कृषि प्रधान देशलाई कृषि वस्तुमै परनिर्भर आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरू विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापार घाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अति व्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र शहरी सुकुमवासी समस्या सिर्जना गर्ने, नियमक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ्ग र सिन्डीकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरूमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसन तन्त्रलाई बढावा दिने जस्ता प्रवृत्तिहरू कांग्रेसले संस्थागत गरेको हो ।,’

प्रतिवेदनमा अध्यक्ष यादवले कांग्रेसको जनमतमा हस्तक्षेप गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा हाम्रो पार्टीले सहकार्य गर्न सक्ने समेत स्पष्ट पार्नुभयो ।