३१ असार २०८३, बुधबार

एमालेले नेतृत्व गर्न नपाउँदा विकासका काम रोकिए : ईश्वर पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २८ जेठ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले सरकारको नेतृत्व गर्न नपाउँदा विकास निर्माणका कामहरु रोकिएको बताउनु भएको छ । विकास निर्माणका कामहरुलाई अघि बढाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बनाउनका लागि एमालेको बहुमतसहितको सरकार बन्नुपर्ने र त्यसका लागि आजैबाट जनतासँग जोडिएर कामहरु गर्न उहाँले आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी संगठनलाई सुदृढीकरण र व्यवस्थित गर्न देशैभरका जिल्लाहरुमा जिल्ला अधिवेशन भइरहेको बताउनुभएको छ । एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको शपथग्रहण कार्यक्रमलाई आज हेटौंडामा सम्बोधन गर्नुहुँदै उहाँले हालसम्म मकवानपुरसहित ६८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सिंगो पार्टीलाई मजबुद बनाउने र २०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउने गरी मिसन ८४ अन्तर्गत पार्टीको कामहरु अघि बढेको जानकारी दिनुभयो । उहाँले पार्टी मजबुत बनाउन विचारमा स्पष्टता, संगठनलाई सुदृढ बनाउनुपर्छ भन्ने मान्यता र जनताको मन जित्ने काम गर्दै समर्थन प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो ।

विचारमा कमजोर र अलमल भएर पार्टी नबन्ने स्पष्ट पार्नुहुँदै उहाँले पार्टीमा विचारको सुस्पष्टता आवश्यक पर्ने उहाँले बताउनुभयो ।
पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विचारहरुबाट निर्देशित हुन अठोट र संकल्प गर्न सबै नेता कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्वाचित जिल्ला कमिटीलाई जनताको मनजित्ने काम गर्दै पार्टीको मिसन ८४ केन्द्रीत हुन पनि निर्देशन दिनुभयो ।