
भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संयोगले त्यस्तो पर्न गएको बताउनु भएको हो । भ्रमणकै बेला राजदूत फिर्ता बोलाउने कुरामा ध्यान नगएको उहाँको भनाइ छ । मन्त्रीपरिषदले राजदूत फिर्ता गर्ने निर्णय गर्दा आफ्नो आसन्न भारत भ्रमणबारे ध्यान नगएको उहाँले स्पष्ट पार्नुभयो ।
‘राजदूतज्यू मेरो भ्रमणमा पनि सँगै हुनुहुन्थ्यो । उहाँले सक्रिय भूमिका खेल्नुभयो । मैले उहाँलाई धन्यवाद भनेर आएको छु । त्यही बेला पर्नु संयोग हो । यो कुरा त्यति ध्यान कसैको पनि गएन । क्याबिनेटमा यो कुरा प्रस्तुत त भयो । तर, दुई दिन रोक्न पनि सकिन्थ्यो । ध्यान नगएकै हो’, प्रचण्डले भन्नुभयो ।
पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धन पूरा कार्यकाल जाने स्पष्ट पार्नुभयो । उहाँले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले मन्त्रिपरिषद्मा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान भने नपुगेको स्वीकार गर्नुभयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने उल्लेख गर्नुभयो । भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत विषयमा महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीसँग दुई देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गर्नुभयो । उहाँले अब ती विषयमा सकारात्मक समाधान निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।
उहाँले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालको साथमा सुपुत्री गङ्गा दाहाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया