
काठमाडौं, २८ जेठ । टी-२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
गएराति सम्पन्न खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो ।
भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाएपछि भारतले खेल ६ रनले जितेको हो ।
प्लेयर अफ द म्याच जसप्रित बुमराह चार ओभरमा मात्र १४ रन दिएर तीन विकेट लिएर भारतको जितका नायक बने । कुनै बेला पाकिस्तानलाई ३० बलमा ३७ रन चाहिएको थियो र ६ विकेट बाँकी थियो तर भारतीय बलरले ३० रन दिएर पाकिस्तानलाई ७ विकेटमा कुल ११३ रनमा सिमित बनाएका थिए ।
टी-२० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौं र ओडीआई-टि-२० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५औँ जित हो ।
यो जितपछि समूह ‘ए’मा रहेको भारतले लगातार दोस्रो जित हासिल गरेको छ । २ खेलमा ४ अंक हासिल गरेको भारत समूह ‘ए’ मा शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै, पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ । पाकिस्तानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो ।









प्रतिक्रिया