
काठमाडौं, २६ जेठ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान पाउनुभएन । अदालतमा उहाँविरुद्धको मुद्दा विचाराधिन रहँदा नेपाली टोलीसँगै प्रक्रिया सुरु नै गर्न पाउनुभएन भने अदालतबाट सफाई पाएपछि विगतको भिसा रद्द हुँदा नयाँ प्रक्रिया अनुसार अमेरिकी दूतावासबाट २ पटक भिसा रिजेक्ट भयो ।
लामिछाने जेठ ९ गते भिसाका लागि अन्तर्वार्ताका दिन दूतावास पुग्नुभएको थियो । पहिलो पटक उहाँको भिसा रिजेक्ट भएको थियो । त्यसपछि चौतर्फी आलोचना भएपछि १७ गते दोस्रो पटक अन्तर्वार्ताका लागि सन्दीपलाई बोलाइएको थियो । दोस्रो पटक पनि उहाँको भिसा अस्वीकृत हुँदा अन्ततः सन्दीप टी–२० विश्वकप खेल्न जान पाउनुभएन ।
सन्दीपको दोस्रो पटक पनि भिसा अस्वीकृत भएपछि नेपाल क्रिकेट संघ क्यान (क्यान)ले एक विज्ञप्ति जारी गरेको थियो । संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कुटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आइसीसीबाट आवश्यक पहुँदा हुँदासमेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’ भनिएको छ । क्यानले यो विज्ञप्ति जेठ १७ गते प्रकाशित गरेको थियो ।

अन्तर्राष्ट्रिय प्रचलनमा कुटनीतिक नोट एउटा मुलुकले अर्को मुलुकको व्यवहारलाई लिएर दिइने उच्च तहको पत्र हो । सरकारले कुटनीतिक नोट दिँदासमेत किन दूतावासले भिसा दिन मानेन भन्ने प्रश्न यतिबेला उब्जिएको छ । तर, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयमा बुझ्दा कुटनीतिक नोट जारी नभएको अनौपचारिक तहबाट कुराकानी मात्रै भएको स्रोतले पुष्टि गरेको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक तवरबाट कुरा गर्दा सकारात्मक सन्देश नपाएपछि कुटनीतिक नोट नै जारी नभएको बुझिएको छ । सन्दीपले उच्च अदालतबाट मात्रै मुद्दामा सफाई पाएको र अझै सर्वोच्च अदालत पुग्न बाँकी रहेको भन्दै भिसा दिन अस्वीकार गरिएको कुराहरु पनि सार्वजनिक भएका छन् ।
यसबीचमा, क्यानले सन्दीपलाई विश्वकपको स्क्वाडमा अन्तिम १५ मा गोप्यरुपमा समावेश गरेको कुरा पनि सार्वजनिक भएको थियो । पहिला नै १५ जना खेलाडी विश्वकपका लागि गइसकेको र सन्दीपलाई थप्दा एक जनालाई हटाउनु पर्ने थियो । तर, सन्दीपको भिसा नलाग्दासम्म हटाउने खेलाडी गोप्य राखिएको कुरा बताइएको थियो । यो कुरा गोप्य नै रहे पनि क्यानले सन्दीपलाई अन्तिम १५ मा राखेर कुनै पनि प्रक्रिया अघि नबढाएको पनि पुष्टि भएको छ ।
प्राप्त पत्र अनुसार क्यानले सन्दीपको विषयमा आइसीसीबाट प्राप्त हुने २५ सदस्यीय सुविधा बाहेक सम्बन्धित संघहरुले आफ्नै श्रोतबाट खर्च व्यहोर्ने गरी थप खेलाडी र अफिसियलहरु राष्ट्रिय टोलीमा समावेश गर्न पाउने प्रावधान अनुसार संघबाट खर्च व्यहोर्ने गरी आइसीसीको स्वीकृतीमा राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको उल्लेख छ ।
यसबाट के प्रष्ट भएको छ भने क्यानले सन्दीपलाई १५ जनाभित्र नभइ अतिरिक्त खेलाडीको रुपमा समावेश गर्न खोज्दा भिसा नलागेको बुझिएको छ ।
दूतावासले पहिला नै १५ खेलाडी र १० अफिसियल गरेर २५ जनालाई भिसा दिइसकेको अवस्थामा फेरि सन्दीपलाई किन भिसा दिने भन्ने कुराको औचित्य क्यानले पुष्टि गर्न नसकेको पनि प्रष्ट भएको छ । नेपाल न्युज बैंक








प्रतिक्रिया