
काठमाडौं, २५ जेठ । अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ । समूह ‘ए’को खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।
सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाएपछि खेल अमेरिकाले ५ रनले जितेको थियो ।
यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएपछि खेलको निर्णय सुपरओभरमा भएको थियो । अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हानेपछि रन बराबरी गरेको थियो ।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए ।
यसअघि पकिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए भने शडाब खानले ४० रन बनाएका थिए ।
त्यस्तै, शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए ।
त्यसैगरी, अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए ।
यो जितपछि समूह ‘ए’ मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अंक हासिल गरेको छ । यसअघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो ।
अब पाकिस्तानले अर्को खेल आइतबार भारतविरुद्ध खेल्दै छ भने अमेरिकाले भारतविरुद्ध जुन १२ मा खेल्ने छ ।








प्रतिक्रिया