१९ असार २०८३, शुक्रबार

विश्वकप फुटबल छनोट : नेपालले आज युएईविरुद्ध खेल्दै

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोस्रो चरणको छनोट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’को रुपमा साउदी अरबमा खेल्न लागेको हो ।

एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ । युएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीमा २३ खेलाडी छनौट गरिएको छ ।

यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन् । जसमा यसअघि टिममा नरहेका आयुष घलानले पुनरागमन गरेका छन् भने बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका छन् ।

त्यस्तै, इन्जुरिका कारण अन्जन विष्ट भने टिममा रहेका छैनन् ।

नेपाली फुटबल टोलीः

गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार ।

डिफेन्डरः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई ।

मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा र आशिष राई ।

फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट र आयुश घलान ।

विश्वकप छनोटको समूह ‘एच’मा रहेको नेपालले यसअघि खेलेका चारै खेलमा हार बेहोरेको छ । नेपालले यसअघि युएईसँग खेलेको खेलमा ४-० ले हार बेहोरेको थियो ।