३१ जेष्ठ २०८३, आइतबार

सफा हिमाल अभियानमा ११ हजार केजी फोहोर संकलन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नेपाली सेनाको सफा हिमाल अभियानको पाँचौं संस्करणमा यसपटक ११ हजार केजी फोहोर र चार मानव शव संकलन भएको छ । जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट संकलित फोहोरमध्ये २२ सय २६ केजी कुहिने र ८ हजार ७ सय ७४ केजी नकुहिने भेटिएको जानकारी दिइएको हो ।

फोहोर अभियान दलले व्यवस्थापन कम्पनी अभनी भेञ्चर्स प्रालिलाई जिम्मा लगाएको छ । विश्व वातावरण दिवसको अवसर पारेर जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा प्रकृति र पर्यावरणको संरक्षणमा नेपाल सरकारसँगै सरोकारवाला निकायको सामूहिक प्रयास उदाहरणीय रहेको बताउनुभयो ।

सफाइ अभियानभन्दा पनि फोहोर नै हुन नदिने निययम कडाइका साथ पालन हुनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा सफा हिमाल अभियानका टीम लिडर सेनानी आदित्य कार्कीले प्रधान सेनापतिलाई अभियानको झण्डा हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा अभियानका सदस्य, शेर्पा सहयोगी, वन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, पिक प्रमोसन प्रालि, खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायतका प्रतिनिधिलाई कदरपत्र प्रदान गरिएको थियो । पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले टोली नेता सेनानी कार्कीलाई सगरमाथा आरोही ब्याच हस्तान्तरण गर्नु भएको थियो ।

सफा हिमाल अभियान सन् २०१९ देखि सुरु गरिएको हो । अभियानअन्तर्गत हालसम्म १,१९,०५६ केजी फोहोर र १४ वटा मानव शव र केही अस्थिपञ्जर संकलन भएको नेपाली सेनाले जनाएको छ ।