
सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ।
प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा सडक पूर्वाधार, स्वास्थ्य, कृषि, सिँचाइ सुविधा लगायतका विषयलाई प्राथमिकता राखिएको छ। एक धारा एक घर अभियानलाई निरन्तरता दिइने र सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिने विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो कार्यक्रम विगतदेखिकै आयोजना हो । तर, पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषयले चर्चा पाएको थियो ।
प्रदेश आयुर्वेद औषधालयलाई वैकल्पिक औषधि उत्पादनको मुख्य केन्द्र बनाइने परियारले बताउनुभयो । स्वास्थ्यमा सुधार ल्याई ‘कर्णाली स्वस्थ नागरिक’अभियान चलाइने कार्यक्रम ल्याइएको छ भने सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्न प्रोत्साहन अभियान चलाइने छ ।








प्रतिक्रिया