२५ जेष्ठ २०८३, सोमबार

ताइवानको सीमा नजिकै देखिए २६ चिनियाँ लडाकु विमान र १० युद्धपोत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । ताइवानले मंगलबार र बुधबार बिहान करिब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोत ताइवानको सीमा नजिकै देखिएको बताएको छ ।

ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रुपमा व्याख्या गरिएको छ ।

चिनियाँ लडाकु विमानको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोत पठाएको ताइवानी मिडियाले जनाएका छन् । साथै, चीनको कुनै पनि दुस्साहसलाई जवाफ दिन सक्ने गरी तटीय क्षेत्रमा आफ्नो मिसाइल प्रणाली सक्रिय गरेको छ।

नयाँ राष्ट्रपति लाइ चिङ तेहले मे २० मा ताइवानको राष्ट्रपतिको रूपमा शपथ लिनु भएको थियो । नयाँ सरकार गठन भएदेखि नै चीनको अडान आक्रामक रहेको छ र यसका लडाकु विमान र युद्धपोतहरू लगातार ताइवानको वरिपरि घुमिरहेका छन् ।

चीनको यो कदमलाई उक्साहटको रुपमा हेरिएको छ । वास्तवमा, आफ्नो सपथ ग्रहण समारोहमा, नयाँ राष्ट्रपति लाइ चिङ तेहले आफ्नो भाषणमा ताइवानको स्वतन्त्रताको बारेमा कुरा गर्नु भएको थियो । जसबाट चीन रिसाएको छ ।

हालै चिनियाँ सेनाका एक वरिष्ठ अधिकारी कर्नेल वु छियानले ताइवानको स्वतन्त्रताको अर्थ युद्ध मात्रै हो र ताइवानमा पृथकतावादी गतिविधिलाई समर्थन गर्ने कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गरिने छैन र त्यसविरुद्ध कडा कारबाही गरिने बताउनु भएको थियो । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ र त्यसैले उसले ताइवानको स्वतन्त्रताको विरोध गर्दछ ।

ताइवानमा नयाँ सरकार गठन भएदेखि नै चिनियाँ सेनाका लडाकु विमानहरू दिनहुँ ताइवानको सिमानामा घुमिरहेका छन् । पछिल्लो घटनालाई पनि दबाब सिर्जना गर्ने रणनीतिसँग जोडिएको छ ।