
काठमाडौं, १९ जेठ । निर्देशक घनश्याम लामिछाने फिल्मको व्यावसायिक पाटो भन्दा पनि कथामा ध्यान दिनुहुन्छ । उहाँले निर्देशन गरेका फिल्महरु ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ले व्यावसायिक सफलता नपाए पनि फिल्मको कथावस्तुलाई फिल्मकर्मी र दर्शकले मनपराएका थिए । उहाँ निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ यही जेठ २५ गतेबाट रिलिज हुँदैछ ।
निर्देशक घनश्याम लण्डनमा छायांकन गरिएको यो फिल्मले लण्डनमा बस्ने नेपाली युवाको प्रेमकथालाई बोल्ने बताउँनुहुन्छ । ‘हाम्रो फिल्म विदेशी भूमिमा छायांकन गरिए पनि कथावस्तु भने नेपाली परिवेशकै छ । म यसलाई नेपाली डायस्पोराको कथा भन्न रुचाउँछु । हामी कथाका रुपमा शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र मान्छौं । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो ।’ उहाँ भन्नुहुन्छ, ‘डायस्पोरामा बस्ने नेपाली युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै फिल्म बनाएका हौँ । मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । आज अलिक फरक परिवेशको नेपाली कथा नै देखाउँदैछु ।’
फिल्म हेरिरहँदा दर्शकले कथामा आफूलाई पाउने घनश्यामको दाबी छ । ‘जोकोही युवामा प्रेम र विछोड जोडिएकै हुन्छ । फिल्मका पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्छन् । फिल्म लार्जर देन लाइफ छ । एउटै फ्लेभरका फिल्म हेरिरहेका दर्शकलाई ‘लण्डन टु पेरिस’ ले ‘रिफ्रेस’ बनाउँछ ।’ घनश्याम भन्नुहुन्छ ।
घनश्याम नेपाली समाज, संस्कृति, भुगोलसँग जोडिएर काम गर्न मन पराउँनुहुन्छ । यी विषयका कथामा राम्रो कलाकार र स्क्रिप्ट भएमा उहाँलाई खुलेर काम गर्न सजिलो हुँदो रहेछ । ‘राम्रो कलाकार र स्क्रिप्ट छ भने मलाई चुनौती वा जोखिम लाग्दैन । सही समयमा सही कास्टिङ गर्न सकियो भने चुनौति र जोखिम केही हुँदैन ।’ घनश्यामको भनाइ छ ।
घनश्यामको फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्कालगायतका कलाकारको अभिनय छ । ‘दर्शकले हरेक पात्रमा आफूलाई पाउँछन् । फिल्मको कथा यति पावरफूल छ कि दर्शकलाई त्यसले कनेक्ट गर्न सक्छ । हामीले फिल्मको कथाभन्दा बाहिर गएका छैनौँ ।’ उहाँले भन्नुभयो ।
ट्राभल लभस्टोरीको कथा रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता हुनुहुन्छ ।
सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुनुहुन्छ ।
फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहनुभएको छ ।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्म वितरण गर्दैछ ।








प्रतिक्रिया