
काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाको मेयर बालेन साहले सडक विभागलाई विभागकै मापदण्ड सम्झाउनु भएको छ । फुटपाथ विस्तारका लागि महानगरपालिकाले न्यूरोडको सडक भत्काएपछि विभाग र बालेन आमनेसामने भएका छन् ।
बिभागले बुधबार महानगरपालिकालाई दुई दिनभित्र भत्काएको सडक पुननिर्माण गर्न अल्टिमेटम दिएको थियो । त्यसको जवाफमा बालेनले आज विभागलाई उसकै मापदण्ड सम्झाउनु भएको हो ।
सडकको पार्किङ हटाउँदा विरोध गर्नेहरूले नै अहिले त्यही ठाउँ खाली गराएर फुटपाथ बनाउँदा विरोध गरेको उहाँले बताउनुभएको छ । बालेनले सामाजिक सञ्जालमार्फत सडक विभागले नै बनाएको मापदण्डसमेत सार्वजनिक गर्दै मापदण्ड पालना गर्नका लागि बनाइएको हो वा होइन ? भन्ने प्रश्न गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ? त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला । प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ । विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ,’ ।







प्रतिक्रिया