४ असार २०८३, बिहिबार

‘दान्भी’को ट्रेलर रिलिज, पूजा भन्छिन्– आलोचना सुन्नुभन्दा कामले जितेर देखाउँछु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को केही समयअघि ट्रेलर, फस्टलुक हुँदा फिल्मकी नायिका पूजा शर्मा ट्रोल बन्नुभयो । फिल्ममा एक्सन अवतारमा देखिएकी पूजाको लुक्सलाई फिल्मकर्मीसँगै सञ्चारकर्मीले हाँसोको माध्यम बनाए ।

बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भइरहँदा पूजाले आफूप्रति फिल्मकर्मी र सञ्चारकर्मीले गरेको व्यवहारप्रति गुनासो गर्नुभयो ।

‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि बनाइयो । पूजाले बडी डबल गरेर एक्सन गरेको हो सम्म पनि भनियो । बडी डबल बलिउड र हलिउड दुवै ठाउँमा छ । तर मैले ‘दान्भी’मा त्यसो गर्नु परेन’, उहाँले भन्नुभयो, ‘मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ ।’

उहाँले पर्दामा ट्रेलर हेरिरहँदा आफूले एक्सन सिक्वेन्स कसरी गरेँ भन्ने विश्वास नलागेको खुलाउनुभयो । ‘फिल्मको एक्सन सिक्वेन्स गरिरहँदा मेरो आलोचना धेरै भयो । अब म अरुको आलोचना सुन्नु भन्दा कामले नै जितेर देखाउँछु भन्ने निर्णय लिएकी छु । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु ।’ उहाँले भन्नुभयो ।

२ मिनेट ४० सेकेण्डको ट्रेलरमा फिल्मकी प्रमुख नायिका पूजाको दमदार एक्सनलाई स्थान दिइएको छ । फिल्मका नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा कुन्साङको हत्यापछि उहाँको हत्याको बदला लिन पूजालाई एक्सन रुपमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ ।

ट्रेलरमा पूजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।

नवनायक कुन्साङले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनरा पाउने बताउनुभयो । अर्का नायक किरण श्रेष्ठले एक्सन जनरा मनपर्ने दर्शकका लागि ‘दान्भी’ उपयुक्त फिल्म भएको दाबी गर्नुभयो ।

फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठले पूजाको टाइमिङ र उहाँको मेहनतले ‘दान्भी’मा एक्सन गर्न सजिलो भएको बताउनुभयो । निर्देशक रुपेश तामाङले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको बताउनुभयो ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता हुनुहुन्छ । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुनुहुन्छ ।

फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।