७ श्रावण २०८३, बिहिबार

प्रहरी अस्पताल र देवकोटा न्यूरो अस्पतालबीच सहकार्य सम्झौता

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । महाराजगञ्जको नेपाल प्रहरी अस्पताल र बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच सेवामा सहकार्य हुने भएको छ । यसका लागि प्रहरी अस्पताल र उपेन्द्र देवकोटा फाउन्डेसनबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र न्यूरो अस्पताल तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आगामी दिनमा दुवै निकायको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । समझदारीबाट बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरो सम्बन्धी उपचारमा थप सहजता हुने उहाँले बताउनुभयो ।

उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटाले फाउन्डेसनलाई समझदारीयोग्य सम्झेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिँदै यसबाट गुणस्तरीय सेवा, शिक्षा र रिसर्चमा सहयोग पुग्ने बताउनुभयो । अस्पताल तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले समझदारी पालनाको प्रतिबद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्यूरो क्षेत्रमा विकास गर्न सहयोग गर्नुको साथै सम्बन्धित विषयमा तालिम दिनसमेत फाउन्डेसन तयार रहेको उल्लेख गर्नुभयो ।

पाँच वर्षसम्म अस्पतालको सेवा सुविधाअन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताका आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, बहालवाला प्रहरी कर्मचारी र तिनका परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका परिवारलाई ओपीडी, बेड भर्ना, अप्रेसनलगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने सम्झौतामा छ ।