
काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गर्नुभएको छ ।
काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उहाँले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताउनु भएको हा ।
‘धेरैले भने चुनावपछि टर्च बालेर हेरे पनि एमाले भेटिँदैन, धुलो पिठो बनाइदिन्छौं र एकथरी भने अलि खुलस्त लागे, धेरैथरी लागे नेकपा एमालेलाई ध्वस्त पार्न । तर, देवासुर संग्राममा देवीहरु मदानमा उत्रिएको जस्तै नेकपा एमालेको तर्फबाट देवीहरु मैदानमा उत्रिए सबै सखाप,’ उहाँले भन्नुभयो, ‘टर्च बालेर खोज्दा एमाले भेटिदैन भन्नेहरु टर्च बालेर मात्र भेटिन्छन् अहिले । आज एमाले जसरी सबल अवस्थामा पुगेको छ, महिलाहरुको असाधारण भूमिका छ ।’
उहाँले अहिलेको व्यवस्था परिवर्तन भएतापनि अवस्था जहाँको तहिँ छ भन्ने गलत भाष्य निर्माण भइरहेको धारणा व्यक्त गर्नुभयो । विगतमा भएका संघर्ष, लडाइँलाई अहिलेको पुस्ताले मूल्यांकन गर्न नसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले अवस्था जहाँको तहीँ छ भन्ने होइन। एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ अहिले नेपालमा व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने । भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो भनेर ?कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे । कहाँ छ उस्ता उस्तै छ ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ ।’












प्रतिक्रिया