१ कार्तिक २०८३, शनिबार

जेष्ठ नागरिकको गुनासो : ‘गाडी भाडामा ५० प्रतिशत छुट पाएनौँ’

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १६ जेठ । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि र जेष्ठ नागरिकबीच छलफल गराएको छ ।

छलफलमा सहभागी जेष्ठ नागरिकले राज्यले जेष्ठ नागरिकलाई दिएका सेवा सुविधा सम्बन्धित निकायले कार्यान्वयन नगरेको गुनासो गरेका छन् । उनीहरुले सार्वजनिक यातायातको भाडामा पाउनुपर्ने ५० प्रतिशत छुट कार्यान्वयन नगरिएको भन्दै त्यसलाई कार्यान्वयन गराइदिन आग्रह गरे ।

कार्यक्रममा जेष्ठ नागरिक दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले सार्वजनिक यातायातमा चढ्दा आफूहरुले भाडामा ५० प्रतिशत छुट नपाएको भन्दै आफ्नो अधिकार माग्दा गाडी स्टाफको दुव्यर्वहार खेप्नुपरेको गुनासो गर्नुभयो ।

जेष्ठ नागरिक ललितबहादुर वलीले जेष्ठ नागरिकलाई समाजमा सम्मानजनक व्यवहार गर्ने वातावरण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिकका गुनासाको सम्बोधन गर्नुहुँदै तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले जेष्ठ नागरिकको सम्मानबिना सभ्य समाजको कल्पना गर्न नसकिने बताउनुभयो । ‘जेष्ठ नागरिकको सम्मान नगर्ने मान्छे असल नागरिक हुन सक्दैन् ।’ उहाँले भन्नुभयो,‘सभ्य समाज निर्माणका लागि जेष्ठ नागरिकको सम्मान अनिवार्य शर्त हो ।’

सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि आफू गम्भीर भएको भन्दै उहाँले सरोकारवालासँग यसबारेमा छलफल गरी कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उपमहानगरका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता भएको छलफलको सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो । छलफलमा वडा अध्यक्ष, सचिव र तुलसीपुर क्षेत्रका जेष्ठ नागरिकका प्रतिनिधिको सहभागिता थियो ।