
काठमाडौं, १६ जेठ । प्रदर्शनरत फिल्म ‘पुजार सार्की’का नायक पल शाहले मंगलबारको मध्यरात फिल्मका दर्शकसँग भेट गर्नुभएको छ ।
प्रदर्शनको छैटौं दिन मंगलबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा साढे १० बजेको अन्तिम शो हेरेर निस्किएका दर्शकसँग फिल्म सकिएपछि मध्यराति १ बजे भेट गर्नुभएको हो । दर्शक भेट्न पलसँगै निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल र नेपाल वितरक रोहित कट्टेल हल पुग्नुभएको थियो ।
दर्शकसँगको भेटमा पलले नेपाली फिल्मले निकै फड्को मारेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । ‘हामीले नेपाली फिल्मको शो जहिले पनि बढीमा नौ बजेसम्म हेथ्र्यौं । विदेशी डिमान्डेड फिल्महरू अबेर राती पनि चल्ने गरेका थिए । तर, आज भने हामी हाम्रै फिल्म हाउसफूल दर्शकसहित मध्यरात साढे १२ बज सकिएको प्रत्यक्षदर्शी भएका छौं । रातीको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली फिल्मले निकै फड्को मारेको महसुस भएको छ,’ उहाँले भन्नुभयो ।
पल गत आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमबार साँझ काठमाडौं उत्रिनुभएको थियो । उहाँले जापान जसैगरी नेपालमा पनि नयाँ रेकर्ड राति सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गर्नुभयो ।
निर्देशक राउतले आफूले निर्देशन गरेका सबै फिल्महरूमध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताउनुभयो । ‘व्यावसायिक सफलतासँगै समीक्षागत रूपमा पनि मैले निकै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छु । मेरो एउटै सपना के हो भने मैले बनाउने फिल्म व्यावसायिक र समीक्षागत दुवै रूपमा सफल रहनु हो, जुन काम अत्यन्त कठिन र जोखिमपूर्ण छ । यो जोखिम मैले उठाएको थिएँ, सफल बन्दै छु भन्ने लागेको छ ।’ राउतले सुनाउनुभयो ।
गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’मा दर्शकको संख्या उल्लेख्य छ । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, सुभाष गजुरेल, प्रेम सुब्बालगायतको अभिनय छ ।








प्रतिक्रिया