
काठमाडौं, १६ जेठ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आह्वानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ ।
मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन परेको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार यी सबै आवेदन भने नक्कली भएको बताइएको छ ।
३००० भन्दा बढी आवेदन अनलाइन मार्फत दिइएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि गुगल फारम मार्फत ३ हजारभन्दा बढी आवेदन प्राप्त भएका छन् जसमा धेरै नक्कली आवेदन पनि परेका छन् ।
केही व्यक्तिहरूले मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनीजस्ता चर्चित व्यक्तित्वहरूको नाम दिएर नक्कली आवेदन दिएका छन् । यससँगै बीसीसीआईको काम बढेको छ किनकी उनीहरूले अब ती आवेदनहरू पहिचान गर्नुपर्नेछ जुन वास्तविक छन् ।
यस रिपोर्टका अनुसार बीसीसीआईका एक अधिकारीले भने, ‘गत वर्ष पनि बीसीसीआईले यस्तै कुराको सामना गर्नुपरेको थियो र यसपटक पनि त्यस्तै घटना भएको छ ।’ मिडिया रिपोर्टका अनुसार भारतीय टोलीका पूर्व ब्याट्सम्यान गौतम गम्भीर प्रशिक्षक पदको दौडमा अगाडि छन् । गम्भीर आईपीएल २०२४ को सिजनको विजेता टोली कोलकाता नाइट राइडर्स (केकेआर) को मेन्टर थिए । तर, उनले पनि यस विषयमा मौन बसेका छन् ।
बोर्ड स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, ‘समय सीमा ठीक छ तर बोर्डले निर्णय लिन अघि केही समय लिन सक्छ ।’








प्रतिक्रिया