२४ असार २०८३, बुधबार

‘विदेशमा होइन, स्वदेशमै केही गरौँ’

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १४ जेठ । धेरै नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान चाहिरहेको बेला एक कार्यक्रमका सहभागीहरुले स्वदेशमै केही गर्न सुझाएका छन् । उनीहरुले बरु विदेशबाट फर्केकाहरुले त्यहाँबाट सिकेर आएको सिप नेपालमै प्रयोग गरी उद्यमी बन्न सुझाएका छन् ।

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजनाले भक्तपुरमा गरेको कोरिया जाने प्रवासी नेपाली श्रमिकको परिवारका लागि वितीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रममा उनीहरुले जे गर्न सकिन्छ स्वदेशमै गरौ भनी सुझाए ।

परियोजना प्रमुख सङ यल सले परियोजनाको उद्देश्य वैदेशिक रोजगारीबाट फर्किएका प्रवासी उत्कृष्ट जनशक्ति र आर्थिक विकासलाई डोर्‍याउने जनशक्ति उत्पादन गर्ने रहेको बताउनुभयो । परियोजना प्रमुख सले इपिएसमार्फत कोरिया गएर सिकेको सिप र कमाएको पुँजीको नेपालमा सही प्रयोगका लागि अनुरोध गर्नुभयो । उहाँले कोरियाबाट फर्किएका युवाले पुनः एकीकरण कार्यक्रमबाट धेरै फाइदा लिनसक्ने भन्दै फाइदा उठाउन सुझाउनुभयो । यस परियोजनामार्फत कोरियाबाट फर्किएकालाई नेपालमै टिक्ने वातावरण बनाउनेमा प्राथमिकता दिने जानकारी उहाँले दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको सहकार्य तथा मानव संसाधन विभाग कोरिया (एचआरडी), परियोजना व्यवस्थापन परामर्श (पिएमसी) हेर्ने गरी कोरियाबाट फर्किएका नेपाली श्रमिकका लागि परियोजनामार्फत पुनः एकीकरणसम्बन्धी जानकारी तथा अभिमुखीकरण कार्यक्रम गर्दै आएको कार्यक्रममा जनाइयो ।

कार्यक्रममा परियोजनाका प्रशाशकीय अधिकृत दीपक न्यौपानेले दक्षिण कोरिया गएर फर्किएका श्रमिकका लागि सुरु भएको पुनः एकीकरण तथा अभिमुखीकरण कार्यक्रमले स्वदेशमै केही गर्न प्रोत्साहन दिँदै आएको बताउनुभयो । कोरियामा काम गरेर फर्किएर नेपालमा केही गर्ने र गरेका श्रमिकका लागि स्वदेशमै केही गर्नु उपयुक्त हुने सुझाव उहाँले दिनुभयो ।

परियोजनाका प्रमुख प्रशाशकीय अधिकृत दीपक न्यौपानेले परियोजनाले प्रदान गर्ने शिक्षा र जानकारीले कोरियाबाट फर्किएकालाई सुरक्षित रूपमा बसोबास गर्न र भविष्यका लागि सपना साकार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०२२ देखि २०२८ सम्म सञ्चालित परियोजनाका लागि ८० लाख अमेरिकी डलर बराबरको रकम छुट्याइएको कार्यक्रममा जनाइयो । परियोजनामार्फत २०२४ अपिल ३० देखि सन् २०२८ सम्म आठ सय जना कोरियाबाट फर्किएकाले पुनः एकीकरणसम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम लिन पाउने जनाइयो । यस परियोजनाअन्तर्गत उद्यमशीलता शिक्षा, रिटर्नी सर्वेक्षण, पुनः एकीकरण शिक्षा, अनलाइन मेन्टरिङ कार्यक्रम, सम्भावित उद्यमीका लागि कोष स्थापनालगायतका काम हुने जनाइएको छ ।

कोरियाबाट फर्केका आप्रवासीको स्थिर पुनः एकीकरण र उद्यमीशलता क्षमता अभिवृद्धि गरी नेपालको सामाजिक, आर्थिक विकासमा योगदान पुर्‍याउनुका साथै रोजगारी वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको जनाइयो ।