
काठमाडौं, १३ जेठ । नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँचपटक विश्वासको मत लिनु व्यवस्थाको बर्खिलाफ भएको बताउनु भएको छ ।
आइतबार संघीय गणतन्त्र शासनसम्बन्धी संवाद कार्यक्रममा उहाँले दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको भएपनि व्यवस्थामाथि नै बर्खिलाफ गर्दै पाँचपटक विश्वासको मत लिइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रणालीगत हिसाबले स्थायित्व खोज्दै गर्दा पनि दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँचपटक विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भने संविधानमा दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको व्यवस्थाको बर्खिलाफ भएको छ ।’
सहकारी सहकार्यमा सामुहिक लगानी गर्ने प्रणाली भएको भन्दै कसैले जनताको बचत अपचलन गर्छ भने त्यो आर्थिक अपराध भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा मान्यौं । सहकारीमा सहकार्य गर्ने सदस्यहरुको पुँजी निर्माण गर्ने, पुँजीलाई जम्मा गर्ने, सामूहिक लगानी गर्ने प्रणाली हो । र सहकारी सुशासनमा आधारित हुन्छ । जुन मान्छे सहकारीको सदस्य छैन, कीर्ते गरेर १० वा हजार कित्ता सेयर ल्याएर जनताको बचत अपचलन गर्छ भने यो आर्थिक अपराध हो ।’
वर्तमान देशमा उठाएको राजस्व भन्दा खर्च गर्ने भार ठूलो भएको भन्दै गुणात्मक परिवर्तनको लागिप्रत्येक मानिसले राज्य निर्माणमा योगदान गर्नुपर्ने बताउनु भयो । गणतन्त्रात्मक मुलुक हुनुभन्दा अगाडि मुलुक के थियो, समाज के थियो भन्ने थाहा नभएको मान्छेका लागि गणतन्त्र पछि के आयो भन्ने थाहा नहुने उल्लेख गर्नुभयो ।
प्रजातन्त्र भन्दा अगाडिको समाज नदेखेकाहरुलाई यसको अन्तर पनि थाहा नहुने भन्दै हाल हामीले लडेर ल्याएको गणतन्त्रको महत्व बुझ्न आग्रह गर्नुभयो ।









प्रतिक्रिया