
डडेलधुरा, १३ जेठ । डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालिकामा रहेको परशुराम धाममा आयोजना गरिएको दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ।
परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा सञ्चालित महोत्सवमा सहभागीहरूको उल्लेख उपस्तिथि रहेको थियो । महोत्सवलाई विभिन्न सत्रमा विभाजन गरेर शिक्षा, स्वास्थ्य, उद्यम स्वरोजगार, साहित्य स्थानीय सरकारलगायतका विषयमा मन्थन गरिएको थियो ।
समापन समारोहमा बोल्दै नगर प्रमुख भरत बडायर जोशीले परशुराम धामलाई धार्मिक पर्यटनको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने, राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकारहरूको स्थानीय साहित्यकारसँग साक्षातकार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्नेलगायतका बहुउद्देश्य लिएर महोत्सव सञ्चालन गरिएको बताउनुभयो ।
महोत्सवमा सुदूरपश्चिम विश्वविधालयका उपकुलपति प्रा.डा. हेमराज पन्त सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव शिक्षाविद् डा.हरि लम्साल, मदन पुरस्कार विजेता डा. नवराज लम्साल, रामलाल जोशी, विवेक ओझा, कवि सोझो गाउँले, विप्लप प्रतीक, स्वास्थ्यविद् डा. अरुणा उप्रेती वक्ताका रुपमा रहनुभएको थियो ।
यस्तै, उद्यमीहरू श्रीकृष्ण अधिकारी, सुनयना पाण्डे, कल्पना बोयजु, पुर्णागिरी मन्दिर व्यवस्थापन अध्यक्ष किसन तिवारी, परशुरामधामका जानकार तीर्थ अवस्थी, पंचदेवल विनायक नगरपालिका अछामकी नगर प्रमुख अम्बिका चलाउने र धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी टिकाराम यात्री, राजेन्द्र बाँनिया, दीर्घराज उपाध्याय र टेक राज अवस्थीले गर्नुभएको थियो । महोत्सवमा स्थानीय विद्यालयका विद्यार्थीले साहित्य र संस्कृतिलगायतका अनेक कला प्रस्तुत गरेका थिए ।
समापन समारोहमा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । मेयर जोशीले आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने बताउनुभएको छ ।









प्रतिक्रिया