
लुम्बिनी, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शनबाट प्ररिचत भएर बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनु भएको छ ।
बिहीबार परेको २५६८औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी दिवस मूल समारोहद्वारा लुम्बिनी परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसारभरिका करोडौँ बौद्ध समूदाय एवं आम मानिसले जीवनमा एकपटक दर्शन/अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको रुपमा लुम्बिनीलाई विकास गर्न सरकार क्रियाशील रहेको दावी गर्नुभयो । ‘वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
बैशाखमा सम्पन्न लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत गरी वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिँदै दाहालले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । ‘बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ । लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले शाक्यमुनी गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको धारणा राख्नुभो । पूर्वीय दर्शन, चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्त्वपूर्ण रहेको बताएका दाहालले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको बताउनुभएको छ ।
मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनीको द्रुत विकासका लागि राष्ट्रिय गौरवको आयोजनामा राखेर लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पार्नुभयो । ‘अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको छ,’ दाहालले भन्नुभयो ।
बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फतउक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने औंल्याएका उनले त्यसका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशनसमेत दिनुभयो । नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलनको समेत छिटै आयोजना गरिने आस्वासन दिनु भएको छ ।








प्रतिक्रिया