आइतबार, ३ असार २०८१
DainikNepal.com
आइतबार, ३ असार २०८१

भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला

दैनिक नेपाल २०८१ जेठ ९ गते १७:३६

काठमाडौं, ९ जेठ । भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार कोलकाताको फ्ल्याटमा मृत फेला पर्नुभएको छ ।  बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाता प्रहरीलाई उद्धृत गर्दै यसको पुष्टि गर्नुभएको हो ।

कोलकाता प्रहरीले भने सांसद अनवरुलको शव न्यू टाउन क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको बताएको छ । यस घटनामा प्रहरीले ३ बंगलादेशीलाई पक्राउ गरेको छ । साथै यसलाई पूर्वनियोजित हत्याको रुपमा व्याख्या गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आउनुभएको थियो । भोलिपल्टै उहाँ बेपत्ता हुनुभएको थियो ।

उहाँको फोनसमेत अफ भएको थियो । यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उहाँको फोन केही समयको लागि स्वीच अन भयो । प्रहरीका अनुसार उहाँको फोनबाट उहाँको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश पठाइएको थियो ।

अनवारुल अजिम अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुनुहुन्छ । उहाँले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ सिटबाट चुनाव जित्नुभएको थियो ।

अनवरुलको मृत्यु हुनुअघि उहाँका परिवारका सदस्यहरूले शेख हसिनालाई भेटेर मद्दत मागेका थिए ।

बंगलादेशी दूतावास पनि प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र बंगलादेश सरकारले सम्पूर्ण मामिलाको प्रतिवेदन मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित