
काठमाडौं, ८ जेठ । प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने भएको छ ।
सिनेमामा उहाँको अभिनय रहने तय भएको निर्देशक शाहीले बताउनुभयो । बेकनको अभिनय रहने खबर सार्वजनिक गर्न पाउँदा गर्व लागेको भन्दै उहाँले सामाजिक सञ्जालमार्फत खुशीसमेत साट्नुभएको छ ।
यो फिल्ममा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुनलगायत अनुबन्धित भइसक्नुभएको छ ।
निर्देशक शाहीका अनुसार अनुसार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको छ ।
साइन्स फिक्सन जनरामा बन्ने फिल्ममा बेकनलाई निर्माताका रूपमा पनि साइन गरिएको जनाइएको छ । नेपाली र बेलायती फिल्मबीचको सम्बन्ध निर्माण गर्ने उदेश्यले त्यसो गरिएको जनाइएको छ । जेमी बेकन नेटफ्लिक्स शृंखला ‘ह्वाइट लाइन्स’ र फिचर फिल्म ‘ब्राइटन’मा रूचाइएका छन् ।
‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढ्नुभएको हो । त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उहाँ नेपाली फिल्म निर्देशनमा होमिनुभएको थियो । यसअघि उहाँले ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गर्नुभएको थियो ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ । हाल सेट डिजाइनको काम र प्री प्रोडक्सनको सुरुवात भइरहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताउनुभयो ।
निर्माता खत्रीका अनुसार छायांकनका लागि नेपालमा नै पहिलो पटक अन्तरीक्षमा जाने रकेटको निर्माणको तयारी भइरहेको छ । सिनेमा साउनको अन्तिमबाट छायांकनमा जाने तयारीमा रहेको छ ।









प्रतिक्रिया