सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

मुगु जोडियो विश्व समुदायसँग

दैनिक नेपाल २०८१ जेठ ७ गते ७:५५

मुगु, ७ जेठ । भौगोलिक रुपले विकट मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ । यससँगै कर्णाली प्रदेश द्रुत गतिको इन्टरनेट सेवामार्फत विश्व समुदायसँग जोडिएको हो ।

यस सेवाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच यसअघि ७५ जिल्लामा पुगेको थियो ।

आइतबार सरकारले कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना अन्तर्गत ७७ जिल्लामध्ये ७६ औँ जिल्लाका रुपमा मुगुमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटिएच सेवा पुर्‍याउन टेलिकम सफल भएको हो ।

मन्त्री र्शमाले मुगुको सदरमुकाम गमगढीमा विस्तार हुन लागेको फाइबर इन्टरनेट सेवासँगै जिल्लामा ४ स्थानिय तहसम्म सेवा विस्तार गर्न सकिनेसमेत बताउनुभएको छ ।

यस्तै, दैलेख जिल्लाको दुल्लु, कालिकोट र जुम्ला हुँदै मुगुको गमगढीसम्म अप्टिकल फाईबर ट्रान्समिसन लिंकको विस्तार कार्य अघि बढाइएकाले आगामी वर्षभित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंकको सेवासमेत विस्तार हुनेछ ।

नेपाल टेलिकमले पुरानो प्रविधिको नेटवर्कलाई एफटिटिएचमा परिवर्तन गरी हाल उपलब्ध माइक्रो वेभ रेडियो लिंकको क्षमता बढाएर टेलिफोन र इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताउनुभएको छ । योसँगै मुगुका बासिन्दाले वार्षिक ७ हजार ९९९ रुपैयाँमा शुल्क तिरेर उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । जिल्लामा इनटरनेट सेवा पुगेपछि स्थानीय हर्षित भएका छन् ।

मुगुमा इन्टरनेट पुगेसँगै देशभर ७६ जिल्ला सूचना प्रविधिसँग विश्वभर जोडिएको छ । अब इन्टरनेटको पहुँच बाहिर रहेको एकमात्र जिल्ला हुम्लामा भने आउँदो आर्थिक वर्ष २०८१/८२ मा एफटिटिएच सेवा पर्‍याउने सरकारको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित