
काठमाडौं, ६ जेठ । नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । ती युवतीको नाम जोरया टेर बेक हो । उहाँजर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्नुहुन्छ । उहाँले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गर्नुभएको थियो । द गार्डियनका अनुसार यो महिना उहाँको मृत्यु हुन सक्छ ।
जोरया धेरै वर्षदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहनु भएको छ । अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पु¥याउँछ । उहाँलाई आत्महत्या गर्ने सोच आइरहन्छ । जोरयाले अब आफ्नो समस्याको समाधाननभएको महसुस गर्दै इच्छामृत्युको माग गर्नु भएको थियो । तर, उहाँ शारीरिक रूपमा पूर्ण रूपमा फिट हुनुहुन्छ । यस्तो अवस्थामा उहाँको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ ।
मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेका छन् । जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार हुनुहुन्थ्यो । जोरयाले द गार्डियनलाई बताए अनुसार उहाँको समस्या बाल्यकालबाट सुरु भएको थियो । उहाँ क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थाल्नुभयो । यसबाहेक उहाँलाई अटिजमको समस्या पनि थियो । यसैमा उहाँ आफैंलाई दुःखी बनाउन थाल्नुभयो । जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) को ३० भन्दा बढी उपचार गराइन् । यसमा बिरामीलाई विद्युतीय झटका दिइन्छ । तर उनको स्वास्थ्यमाकुनै सुधार नआएको जोरयाले बताउनु भएको छ ।
१० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि निराश भएर अन्ततः स्वस्थ जीवन जिउने आशा त्यागेको जोरयाले बताउनुभयो । त्यसपछि उहाँले इच्छामृत्युका लागि आवेदन दिनु भएको थियो । उहाँले इच्छामृत्यु प्राप्त गर्न त्यति सजिलो नभएको बताउनुभयो । इच्छामृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र नेदरल्याण्ड्स हो । त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानूनी मान्यता दिइएको थियो । नेदरल्याण्डमा, इच्छामृत्युको लागि स्वीकृति पाएपछि, डाक्टरहरूले सामान्यतया अन्तिम मिनेटको प्रक्रिया सम्बन्धित व्यक्तिको घरमा गर्छन् । यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै मृत्यु हुन्छ ।
विशेष कुरा यो हो कि यो मामिला मृत्युपछि पनि छानबिन हुन्छ । चिकित्सकको तर्फबाट अलिकति पनि लापर्बाही गरेको पाइएमा १२ वर्षसम्म कैद हुनसक्छ । सन् २०२२ मा नेदरल्याण्डमा यस कानुनी विधीबाट कुल ८ हजार ५ सय १ जनाले इच्छामृत्यु रोजेका थिए ।








प्रतिक्रिया