५ असार २०८३, शुक्रबार

सिटामोल पनि छैन् जिल्ला अस्पताल मुगुमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, ५ जेठ । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिकोसमेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन् ।

औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफै बिरामी सैय्यामा परे जस्तै छ । सरकारले ९८ प्रकारका निःशुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन गाह्रो हुँदै आएको छ।

सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल मुगु, सेवा सुविधाको नजरबाट हेर्दा आफै थला परेको छ । बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपचार नपाएको भन्दै दुखेसो पोख्ने गरेका छन् ।

मुगुको खत्याड गाउँपालिका-९ का राजकुमार लावड सामान्य बिरामी परेपछि जिल्ला अस्पताल पुग्नुभएको थियो । तर, उहाँले अस्पतालमा सिटामोलसमेत पाउन सक्नुभएन । ज्वरो आउने, खोकी लाग्ने, कान दुख्ने जस्ता समस्या देखिएपछि आफू अस्पताल पुगेकोमा सिटामोल पनि पाउन नसकेको उहाँको गुनासो छ ।

१५ सैय्याको जिल्ला अस्पताल मुगुमा उपचारका लागि मुगुका मात्र नभई छिमेकी जिल्ला हुम्लाका केही क्षेत्रका नागरिक पनि आउने गरेका छन् । मौसम परिवर्तनसँगै बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

औषधि अभाव हुँदा पनि सम्बन्धित निकाय बेखबर रहेको नागरिकहरूको दुखेसो छ । जिल्ला अस्पताल मुगुले अहिलेमात्र नभई समय समयमा औषधि अभाव खेप्दै आइरहेको छ ।

गत भदौ महिनामा खरिद गरिएको औषधिले अहिलेसम्म काम चलेको अस्पताल प्रशासनले जनाएको छ । अहिले गत वर्ष खरिद गरिएका औषधिले धानिरहेको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर कमल ढुङ्गनाले बताउनुभयो ।

सामान्य बिरामी हुँदासमेत उपचार नपाएपछि नागरिक भने मारमा छन् । गाउँमै अस्पताल भएर पनि आफूहरूले सास्ति खेप्नु परेको उनीहरूको गुनासो छ ।