
काठमाडौं, ३ जेठ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ ।
सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नु हुनेछ । सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिल क्षेत्रीले आफ्नो सन्यासको जानकारी दिनु भएको हो ।
उहाँले भन्नुभयो, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिँन । म्याचअघि राष्ट्रिय टोलीका प्रशिक्षक सुकी सर मसँग आएर आफ्नो यात्रा सुरु गर्न लागेका हुन् भन्नुभयो । म त्यो भावना बिर्सन सक्दिँन ।’
४० वर्षका सुनिल क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गर्नुभएको थियो । उहाँले पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गर्नुभएको थियो । उहाँले १५० खेलमा ९४ गोल गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ । भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि क्षेत्री पर्नुहुन्छ ।








प्रतिक्रिया