७ श्रावण २०८३, बिहिबार

‘अनमोल र मलाई फर्की फर्कीले पर्खिरहेको रहेछ’

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । सन् २०१८ मा निर्माण भएको फिल्म ‘लिली बिली’बाट नायिकाका रुपमा नेपाली फिल्ममा पाइला चाल्नुभएको अभिनेत्री जसिता गुरुङले यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ सम्म आइपुग्दा ‘लभ स्टेसन’ र ‘ज्याकीः आइ एम २१’ गरी चार फिल्ममा मात्र अभिनय गर्नुभएको छ ।

उहाँ आफूलाई अभिनयमा ‘चुजी’ त मान्नुहुन्न, तर उहाँले अभिनय गरेको फिल्मको संख्यालाई हेर्ने हो भने ‘चुजी’ भन्दा फरक पर्दैन । ‘स्क्रिप्ट आउँदा सकेसम्म आफ्नो पात्र हेर्छु । उसको चरित्र हेर्छु । मलाई जति फिल्मका अफर आए, कुनैमा स्क्रिप्ट चित्त नबुझ्ने त कुनैमा समय नमिल्ने थियो । त्यसैले धेरै फिल्महरु छोडेँ ।’ उहाँले भन्नुभयो ।

जसिता अभिनेता अनमोल केसीका साथ फिल्म ‘फर्की फर्की’लाई लिएर दर्शकमाझ आउँदै हुनुहुन्छ । अभिनयमा नआउँदासम्म उहाँ अनमोलको फ्यान हुनुहुन्थो, अनमोललाई सम्मान गर्नुहुन्थो । अहिले उहाँ अनमोलको अनस्क्रिन प्रेमिका भएर दर्शकमाझ देखिँदै हुनुहुन्छ ।

‘फिल्मको कन्सेप्ट आउँदा उत्साहित थिएँ । अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा झन खुशी थिएँ । यसअघि एक फिल्मका लागि अनमोलसँग काम गर्न अनुबन्धित भएकी थिएँ । तर फिल्म बनेन । हामीलाई जोडी बन्न ‘फर्की फर्की’ ले पर्खिएको रहेछ ।’ जसिता भन्नुहुन्छ ।

उहाँले थप्नुभयो, ‘अनमोलप्रति मेरो रेस्पेक्ट पहिला र अहिले उस्तै छ । अनस्क्रिन जोडीका रुपमा स्क्रिन शेयर गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु ।’

फिल्ममा जसिता साइरा गुरुङको भूमिकामा हुनुहुन्छ । जो मिक्सोलोजिस्ट अर्थात् इभेन्टमा ‘ड्रिङ्क्स अर्गनाइज’ गरेर बनाउने काम गर्नुहुन्छ । ‘म यूकेबाट नेपाल आएकी रिजर्भ, सफल र सिम्पल केटीको भूमिकामा छु । वास्तविक जीवनमा म लाउड देखिए पनि फिल्ममा त्यस्तो छैन् ।’ जसिता भन्नुहुन्छ ।

जसिता ‘फर्की फर्की’लाई खाना र बुकीसँग तुलना गर्नुहुन्छ । ‘जसरी खानामा भेराइटी हुन्छ । फूलको बुकीमा पनि धेरै फूल हुन्छन्, फिल्म ‘फर्की फर्की’ पनि त्यही हो । यसमा कमेडी, रोमान्स, फेमिली ड्रामा, जीवनमा आवश्यक पर्ने माया, सम्बन्ध, साथीत्वको कुरा सबै छ । टाइम ट्राभलको कथा भएकाले पनि दर्शकले नयाँ स्वाद पाउनेछन् ।’ जसिताको दाबी छ ।

फिल्मले जीवनमा राम्रो काम गर्दै गइयो भने जीवनको अन्त्य ढिलो चाँडै राम्रो हुने सन्देश दिने जसिता ठोकुवा गर्नुहुन्छ ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैहुनुहुन्छ । फिल्ममा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।