२८ असार २०८३, आइतबार

 म आफूलाई भगवान मान्दिनँ : अनमोल केसी 

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । अभिनेता अनमोल केसी यतिबेला करियरको १०औं वर्षको दौडमा हुनुहुन्छ । अभिनयमा दशक यात्रा गर्दै गर्दा उहाँ १०औं फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १० गते दर्शकमाझ आउँदै हुनुहुन्छ ।

दशकको यात्रामा अनमोलले आफूलाई लभरब्वाई, खेलाडी, ग्याङस्टारका रुपमा दर्शकमाझ उभ्याउनुभयो । अनमोल टाइम ट्राभलको कथा रहेको फिल्म ‘फर्की फर्की’मा म्याडी चरित्रमा देखिँदै हुनुहुन्छ । फिल्मको सार्वजनिक ट्रेलरमा उहाँले आफूलाई ‘भगवान’ मान्नुभएको छ ।

अनमोल फिल्मको संवाद अनुसार आफूले आफूलाई भगवान भनेको बताउँनुहुन्छ । ‘वास्तविकतामा म आफूलाई भगवान मान्दिनँ । जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा उसले आफूलाई भगवान महशुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान होइन । फिल्ममा म्याडीले आफू भगवान हो भन्ने कुरामा विश्वास गर्छ ।’ अनमोल भन्नुहुन्छ ।

मानिसले कुन बेला आफूलाई भगवान महशुस गर्छ त ? यो प्रश्नमा अनमोलको बुझाई आफ्नै छ । ‘कसैलाई आफूलाई यो दुनियाँ आफ्नै कब्जामा छ भनेर महान अनुभव गर्छ । उसले आफूले गरेका जे कुरा पनि सही नै हो भन्ने ठान्छ । तब आफूलाई भगवानको महशुस गर्छ ।’ अनमोल भन्नुहुन्छ ।

अनमोलका अनुसार फिल्मको स्क्रिप्टमा ‘भगवान’ आए पनि दर्शकले म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा हेर्न पाउनेछन् ।

अनमोलका लागि वर्ष २०८० सुखद रहेन । उहाँ अभिनित फिल्म ‘छड्के २’ बक्सअफिसमा फ्लप भएपछि सामाजिक सञ्जालमार्फत फिल्म असफल भएको स्वीकार्नुभएको थियो । त्यसैवर्ष एक निर्माताले ‘आपराधिक विश्वासघात’को आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उहाँ प्रहरी हिरासतमा तीन दिन बसेर रिहा हुनुभएको थियो ।

यी दुई घटनालाई आफूले नराम्रो सपनाका रुपमा लिने गरेको अनमोल सुनाउँनुहुन्छ । ‘भनिन्छ, सबै मानिसको जीवनमा एकचोटी साढे ७ को दशा आउँछ । शिवजीको जीवनमा पनि त्यस्तै भएको थियो रे । यी दुई कुरालाई एउटा नराम्रो सपनाको रुपमा लिन्छु ।’ उहाँ भन्नुहुन्छ, ‘छड्के २ को असफलताले मलाई जीवनमा ‘एउटा विन्दुमा पुगेर मेहनत गर्नुपर्छ । मेहनत अझ पुगेको छैन’ भनेर हौसला दिएको छ । यो नै मेरा लागि महत्वपूर्ण पाठ हो ।’

अनमोलका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतीपूर्ण रहेछ । ‘म गत वर्ष मानसिक रुपमा कमजोर पनि थिएँ । मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानेँ ।’ उहाँ भन्नुहुन्छ ।

दर्शकले आफूलाई ‘फर्की फर्की’मा ‘बेटर एक्टर’का रुपमा देख्न पाउने अनमोलले दाबी गर्नुभयो । ‘जुन बेला अभिनय थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’मा अभिनय गरेँ । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । मलाई ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ ।’ उहाँले भन्नुभयो ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोलले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्दैहुनुहुन्छ । फिल्ममा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।