२२ असार २०८३, सोमबार

हेटौंडामा ‘केवाफुङ’को गीतमाथि परिचर्चा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३० वैशाख । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरको आयोजनामा हेटौंडामा शनिबार युवाकवि गगन योक्पाङ्देनको नयाँ कृति ‘केवाफुङ’को गीतमाथि परिचर्चा तथा कवि गगन योक्पाङ्देनको एकल कविता वाचन भएको छ । झसाप मकवानपुरको ३०३औँ साहित्य शृङ्खलाअन्तर्गत यस कार्यक्रम भएको संस्थाका सचिव मसान उपासकले बताउनुभयो ।

साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि गगनले आफ्ना ५ वटा उत्कृष्ट कविताहरू वाचन गर्नुभयो ।

उहाँले उपहार, पानीको जीवन, छिमेकीलाई, छोरीको चकचक र नानीहरू शीर्षकका कविताहरू वाचन गर्नुभएको थियो । त्यसपछिको क्रममा उहाँको नविनतम् कविता कृति केवाफुङको गीतमाथि समीक्षक घनश्याम घिमिरेले आफ्नो समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

समीक्षक घिमिरले यो कृतिमा रहेका कविताहरू मौलिक रहेको, स्थानीय सरल बिम्बहरूको प्रयोग गरिएको र सबैप्रति समभाव राख्न खोजिएकाले उत्कृष्ट सङ्ग्रह बनेको धारणा राख्नुभयो । साथै देश, माटो र श्रमप्रति भने समभाव राख्न नहुने उहाँको धारणा थियो । उहाँले देश, माटो र श्रमप्रति आदर गर्न भुल्न नहुनेमा जोड दिनुभयो ।

दोस्रो चरणमा कवि गगनले पुनः ५ वटा कविता वाचन गर्नुभयो । उहाँले साँइली सोल्टिनीको बैँश, पवन हलुवाईको दिनचर्या, एउटा घरको दिनचर्या र बाटोको आयु शीर्षकका कविताहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कवि निमेष निखिलले सुदुरपूर्वको गाउँमा बसेर कविता कर्म गरिरहनुभएका गगनको कविता मौलिक भएकोमा कविको पहिलो सफलता यही रहेकोमा जोड दिनुभयो । उहाँले धेरैजसो कविले पहिलो कृतिमा अरुसँग कविताको शैली मिलेको आरोप खेप्ने गरेकामा गगन यो मामिलामा जोगिएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा मुक्तिगोविन्द बैद्य, भानु बोखिम, रामकुमार एलन, डिबि बर्तौला, राजकुमार लामिछाने, प्रमेन्द्र महर्जन, सागर तिमल्सिना, छवि अनित्य, देवरजा तिवारी, सानु खनाल, सुबास खनाल, यस लामा, समर्पण न्यौपाने, किशन पौडेल, रजनी पौडेल, मेनु तिमल्सिना, मनोज पोखरेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता झसाप मकवानपुरका विश्वनाथ सञ्जेलले गर्नुभएको थियो भने सहजीकरण सचिव मसान उपासकले गर्नुभएको थियो ।