सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

दैनिक नेपाल २०८१ वैशाख २७ गते ९:३७

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ । सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाउनुभएको हो । पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको र गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

स्वर्गीय गुरुङप्रति शोक प्रस्ताव पारित गर्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिनुभयो । ‘पार्टीका नेता, पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको विषयमा छलफलका लागि सभापतिजीले आकस्मिक बैठक राख्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘बैठकले शोक प्रस्ताव पारित गर्नेछ । त्यसपछि आजै उहाँको दाहसंस्कार गर्ने कार्यक्रम छ ।’

उहाँका अनुसार सम्भवतः बैठकले शोक प्रस्ताव पारित गरेपछि बिहीबार गर्ने भनिएका पार्टीका बैठक र कार्यक्रमहरु समेत स्थगित हुनेछन् ।

गुरुङको मंगलबार उपचारको क्रममा काठमाडौंको हिमाल अस्पतालमा निधन भएको थियो । १८ महिनादेखि ओछ्यान पर्नुभएका उहाँ बाथ र सुगरका बिरामी हुनुहुन्थो ।

विक्रम संवत १९९७ सालमा जन्मिएका गुरुङले २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गर्नुभएको थियो । त्यसपछि पञ्चायत विरुद्धको आन्दोलनमा लागेर भारतमा निर्वासन जीवनसमेत बिताउनुभएका उहाँ पछि पञ्चायतमा लागेर २०३९ सालदेखि ०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको सभापति समेत हुनुभएको थियो ।

उहाँ ०५६ सालमा ताप्लेजुङबाट कांग्रेसको उम्मेदवार हुनुहुन्थो । २०६४ मा भने उहाँ माओवादीका राम कार्कीलाई पराजित गर्दै प्रतिनिधिसभाको सदस्य बन्नुभयो ।

२०७० सालमा कांग्रेसको समानुपातिकबाट सांसद भएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकासमन्त्री बन्नुभएको थियो ।

उहाँले करिब १० वर्ष कांग्रेसको ताप्लेजुङ जिल्ला सभापति भएर काम गर्नुभएको थियो ।

गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । छोराहरु विदेशमा भएका कारण मंगलबार निधन भएका उहाँको बिहीबार मात्रै दाहसंस्कार गर्न लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित