सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

कोशीमा तेस्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की

दैनिक नेपाल २०८१ वैशाख २७ गते ९:३०

विराटनगर, २७ वैशाख । कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुनेभएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै सत्ता गठबन्धनले हिक्मतकुमार कार्कीलाई अघि बढाउन लागेको हो । गठबन्धनले बिहीबार बिहान १० बजे नै मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबारै एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्ने तयारी रहेको बताउनुभयो । एमालेका नेता कार्की यसअघि नै दुई पटक मुख्यमन्त्री भइसक्नुभएका नेता हुनुहुन्छ ।

मुख्यमन्त्री खोसिएपछि हालका मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत जानुहुनेभएको छ । उहाँले बिहीबार नै सर्वोच्चमा रिट दायर गर्ने तयारी गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले भने मुख्यमन्त्री कार्कीलाई समर्थन दिएका ५२ सांसदले समर्थन फिर्ता लिएको र प्रदेश सभाबाट समेत विश्वासको मत लिनेसम्बन्धी संकल्प प्रस्ताव पारित भएको अवस्थामा मुख्यमन्त्री कार्कीले त्यसबारे कुनै प्रस्ताव नगरेपछि बहुमत सांसदको मागबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको खुलाउनुभएको छ ।

प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गर्नुभएको हो । उहाँले मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि वैशाख २८ गते शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिनुभएको छ ।

त्यहीअनुसार एमाले र माओवादी केन्द्रले बिहीबारै बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् भने लगत्तै सांसदहरूको सनाखत गराउने कार्यक्रम छ । एमाले र माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई विराटनगर बाहिर नजान निर्देशन गरेका छन् ।

कांग्रेस नेता कार्की गत असोज २८ गते संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । कांग्रेसभित्रै विद्रोह गरेर मुख्यमन्त्री बन्नुभएका कार्कीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका सांसदहरूले समेत समर्थन गरेका थिए । तर फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेपछि उहाँ नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको थियो ।

मुख्यमन्त्री कार्कीले संविधानबमोजिम भन्दै विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडान लिनुभएको थियो । तर एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पारित गर्नेदेखि प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री कार्की पदमुक्त हुनुभएको हो । कार्कीलाई उहाँकै दल नेपाली कांग्रेसले समेत राजीनामा दिन पटक पटक निर्देशन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित