सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

दैनिक नेपाल २०८१ वैशाख २७ गते ८:२८

काठमाडौं, २७ वैशाख । त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।

विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ ।

त्रिविका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताउनुभयो ।

विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा.डा. बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा.डा. खड्ग केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित