आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

साङ्लोमा बाँधिएका उदयपुरका युवराजको उद्धार

दैनिक नेपाल २०८१ वैशाख २४ गते ९:०१

-अन्जनी कुमार अधिकारी, उदयपुर, २४ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका-११ साकेला टोलका युवराज राईको उद्धार गरिएको छ । साङ्लोमा बाँधिएर खोर जीवन व्यतित गर्दै आउनुभएका युवराजको आइतबार उद्धार गरिएको हो ।

विगत ८ वर्ष देखि मानसिक समस्या भोग्दै आउनुभएका उहाँलाई ४–५ वर्ष अघिदेखि साङ्लोमा बाँधेर खोरमा राखिएको थियो ।

२०७९ साल जेठमा उहाँलाई उपचारको लागि मानव सेवा आश्राममा लागिएको थियो लगभग ११ महिना पश्चात ठिक भएर घर फर्कनुभएका उहाँमा पुनः समस्या आएपछि साङ्लोमा बाँधिएर खोरमा बस्नुपरेको थियो ।

दिसा–पिसाव र खाना एकै ठाउँमा गर्दै आउनुभएका उहाँलाई आइतबार नेकपा (एमाले) उदयपुर जिल्ला अध्यक्ष भागवत राउतको समन्वयमा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेत र उप्रप्रमुख महेश्वरी राईको सहयोगमा मानव सेवा आश्रम, जनकपुर पठाइएको हो ।

लामो समय साङ्लोमा जीवन बिताउनुभएका युवराजको आमाको भने निधन भइसकेको छ भने बुवा क्यान्सर पीडित रहनुभएको छ ।

तीन दाजुभाई मध्येका कान्छा युवराज अहिले परिवारको सम्पर्कमै नरहनुभएको उहाँकी भान्जीबुहारी उमा राईले बताउनुभयो ।

युवराजको उद्धार गर्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अब पुनः उहाँमा यस्तो समस्या हुन नदिन स्थानीय सरकारले उहाँ ठिक भएर फर्केपछि उहाँलाई व्यस्त गराउने वातावरण बनाइदिन माग गर्नुभयो ।

नगरप्रमुख बसन्त बस्नेतले नगर भित्रका युवराज जस्ता जोकोहीलाई नगरपालिकाले उद्धार गर्ने भन्दै उनीहरुलाई उद्धार पश्चात समस्या हुन नदिन स्थानीयलेसमेत सहयोग गर्नुपर्ने धारण राख्नुभयो ।

नगर उपप्रमुख महेश्वरी राईले युवराज ठिक भएर फर्केपछी उहाँलाई कहीँ कतै रोजगार मुलक काममा व्यस्त बनाएर पुनः साङ्लोमा फर्किन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीयहरुले भने पशु झैँ खोरमा बसेका युवराजको उद्धार भएकोमा खुशी व्यक्त गर्दै उहाँलाई सामान्य जीवनमा फर्काइदिन मानव सेवा आश्रमलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित