शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन वैशाख २८ र २९ गते

दैनिक नेपाल २०८१ वैशाख २२ गते २०:०२

काठमाडौं, २२ वैशाख । राष्ट्रिय संगीतकर्मी संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रीय महाधिवेशन वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।

संघका महासचिव अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताउनुभयो । संघको महाधिवेशनको उद्घाटन वैशाख २८ गते काठमाडौंको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुनेभएको छ ।

संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिव खातीले जानकारी गराउनुभयो । संघको निर्वाचन भने २९ वैशाखमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताउनुभयो ।

संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भइरहेको छ । मुलुकका सात प्रदेश र काठमाडौं उपत्यका थप एक प्रदेश गरी संघको ८ प्रदेश रहेको र जसमा २० हजार भन्दा बढी कलाकारहरु सदस्य भएको पनि कार्यवाहक अध्यक्ष कटवालले जानकारी गराउनुभयो । ‘संघका मतदान अधिकार भएका करिब १३ सयजना आजिवन सदस्य हुनुहुन्छ भने ७५ वटै जिल्लाका करिब साढे पाँचसय प्रतिनिधिहरुले अधिवेशनमा लाग लिनुहुन्छ ।’ यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यवाहक अध्यक्ष कटवालले बताउनुभयो । यो १८औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उहाँले जानकारी गराउनुभयो ।

छैठौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ । जसका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउने आफूहरुको चाहना रहेको तर लोकतान्त्रिक प्रकियाअन्तर्गत कसैले पदाधिकारीमा उम्मेदवार दिन्छ भने त्यसलाई रोक्ने पक्षमा आफुहरु नभएको पनि संघका तर्फबाट पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो ।

संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । बाँकी विभिन्न पदाधिकारीहरु संघको कार्यसमिति बैठकले मनोनयन गर्ने पनि कार्यवाहक अध्यक्ष कटवालले कार्यक्रममा जानकारी गराउनुभयो ।

संघका पूर्वअध्यक्ष एवम् अग्रज गायक रेशम थापाले आफुहरुले १८ वर्षअघि कलाकारको हक हितका लागि स्थापना गरेको राष्ट्रिय संगीतकर्मी संघ आज बृहत भएको भन्दै निकै खुसी लागेको छ भन्नुभयो ।

यस्तै, संघका सल्लाहकार तथा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेले महाधिवेशनको सफलताको शुभकामना दिँदै सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित