शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

मुलुकको समृद्धिका लागि एमाले सरकार आवश्यक : केपी ओली

दैनिक नेपाल २०८१ वैशाख २२ गते १९:५०

रसुवा, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लामो संक्रमणमा गुज्रेको मुलुकको समृद्धिको लागि एमालेले आगामी सरकारको नेतृत्व गर्ने बताउनुभएको छ । आफूले सरकारको नेतृत्व गरेको समयमा थालेको अधुरा योजना पूरा गर्न अबको निर्वाचनमा एमालेले देशको नेतृत्व लिने र यसका लागि मिसन ८४ को अभियान सुरु भएको बताउनुभयो ।

गोसाइकुण्ड केबुलकार चल्छ र चलाउने बताउँनुहुँदै अध्यक्ष ओलीले टनेल तथा केरुङ काठमाण्डौ रक्सौल रेलमार्गको अवधारणा पूरा गर्ने बताउनुभयो ।

एमाले रसुवाको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले स्थानीय सरकारले युवालाई अवसर प्रदान गर्नुपर्ने र युवाहरुलाई सामाजिक विकृति र विसंगती अन्त्य गरी सभ्य समाज निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती तथा एमाले नेताहरु सहभागी हुनुहुन्थो । अध्यक्ष ओली तथा रक्षामन्त्री उप्रेतीले धार्मिक पर्यटकीय क्षेत्र गोसाइकुण्डको भ्रमण सकेर अधिवेशन उद्घाटन गर्नुभएको थियो । अध्यक्ष ओलीलाई स्थानीयसहित पार्टीका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

अधिवेशनमा पार्टीमा योगदान गर्ने नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा पाँचवटै गाउँपालिकाबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

जिल्ला उपाध्यक्ष तथा अधिवेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुवेदीका अनुसार गत १५ गते जिल्लाभरका वडा कमिटी र जनवर्गीय संगठनबाट अधिवेशन प्रतिनिधि छानिएका थिए । जिल्लाभर कुल ३ हजार १ सय ९ जना सदस्य रहेका छन् । पाँचवटै पालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिशत, महिला ३३ प्रतिशत गरी अधिवेशनमा ३ सय ९० जना प्रतिनिधि मतदाता सहभागी भएको जिल्ला सचिव जनार्दन ढकालले बताउनुभयो ।

बन्द सत्र भने भोलि मात्र सुरु हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित