शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

रवीन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद

दैनिक नेपाल २०८१ वैशाख २२ गते १९:१९

पोखरा, २२ वैशाख । दिवंगत नेता रवीन्द्र अधिकारीको ५५औं जन्मजयन्तीको अवसरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । शनिबार उहाँको स्मृतिमा स्थापना भएको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाएको हो ।

बिहान आयोजित रक्तदान कार्यक्रममा चालिस युनिट रगत संकलन भएको प्रतिष्ठानले जनाएको छ । रक्तदान कार्यक्रमको उद्घाटन प्रतिष्ठानकी अध्यक्ष विद्या भट्टराईले गर्नुभएको थियो ।

त्यसैगरी, ‘स्मृतिमा रवीन्द्र अधिकारी’ विषयक परिसंवाद कार्यक्रममा बोल्ने वक्ताहरूले स्वर्गीय रवीन्द्रलाई विकासका कुशल योजनाकार र जनताको सच्चा जनप्रतिनिधिको रूपमा स्मरण गरे ।

कार्यक्रमका प्रमुख वक्ता गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर श्रीकान्त खतिवडाले राष्ट्रिय राजनिती मात्रै नभएर देशको विकासका महत्त्वपूर्ण योजनाकार प्रभावशाली छवि भएका नेताको रूपमा चित्रित गर्नुभयो ।

प्रतिष्ठानका सदस्य कालिदास तिमिल्सिनाले विकास र समृद्धिका कुशल योजनाकार भन्दै अधिकारी आफ्ना कुरा स्थापित गर्न सक्ने अद्वितीय क्षमताका धनी भएको बताउनुभयो । प्रतिष्ठानका अर्का सदस्य राजेन्द्रमणि लामिछानेले अधिकारी कुशल नेता मात्रै नभएर विकासका असली अभियन्ता र साझेदार भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वसदस्य डाक्टर शान्ता खत्री, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्र्श्वर कोइरालासहितले रवीन्द्र राजनितीलाई संस्कार र अनुशासनसँग जोडेर विकासमा सृजनशिलता जोड्ने नेता भएको उल्लेख गर्नुभयो ।

राजनितीलाई इमानसँग जोडेर जनताको विश्वास निरन्तर जित्ने सफल नेता रवीन्द्र भएको र रवीन्द्र अधिकारीले खोजेको समृद्ध समाज निर्माणका लागि मिहिनेतका साथ लाग्न कार्यक्रमका अधिकांश वक्ताहरूले जोड दिएका थिए ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य अर्जुन अधिकारी र सञ्चालन सदस्य रश्मि आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित