शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

माओवादी संसदीय दलको बैठकमा बजेटबारे छलफल

दैनिक नेपाल २०८१ वैशाख २२ गते १७:२२

काठमाडौं, २२ वैशाख । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको १०औं पूर्ण बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकमा आगामी बजेट केन्द्रित छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको अनुभवसमेत लिएर आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमलाई टेकेर कसरी बजेट निर्माण गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो । बैठकमा दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो राख्दै दलका मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’

प्रधानमन्त्री दाहालले अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरी सबै दल र मन्त्रीहरुका सुझावका आधारमा बजेट निर्माणमा केन्द्रित हुन दलका सदस्यहरुलाई निर्देशन दिएको जानकारी सचेतक पाण्डेले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले बैठकमा अर्थमन्त्रीलगायत सबै मन्त्रीहरुसँग बसेर हाम्रो दलका तर्फबाट प्रतिनिधित्व गर्नु हुने माननीय मन्त्रीज्यूहरु र हाम्रो दलका सबै सदस्यसँग मिलेर सुझाव लिन निर्देशन गर्नुभयो । विगतका नीति तथा कार्यक्रम र बजेटबाट पाठ सिकेर नयाँ आर्थिक वर्षको बजेटमाथि कसरी काम गर्ने भन्ने विषयमा नै मुख्यगरि प्रधानमन्त्रीको जोड थियो ।’

बजेटमा विशेष गरी उत्पीडित र गरिब वर्गलाई ध्यानमा राख्दै सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा बजेट निर्माणमा प्रधानमन्त्री दाहालले जोड दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित