शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठ १८ र १९ गते

दैनिक नेपाल २०८१ वैशाख २२ गते ६:४१

हेटौंडा, २२ वैशाख । नेकपा (एमाले) मकवानपुरको १२औँ जिल्ला अधिवेशन आउँदो जेठ १८ र १९ गते हेटौंडामा हुने भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदनकुमार दाहालले बताउनुभयो ।

अधिवेशनमा मकवानपुरका दश वटै स्थानीय तहका १०२ वटै वडाका प्रतिनिधिहरु र पर्यवेक्षकहरुसमेत गरेर करिब २ हजार ५ सय जना सहभागि हुने दाहालले बताउनुभयो ।

एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षता तथा एमालेका पोलिटब्यूरो सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केदार न्यौपाने, केन्द्रीय सल्लाहाकार सूर्यचन्द्र न्यौपाने, प्रदेश सदस्यहरुसमेतको आतिथ्यता रहेको बैठकले अधिवेशनको मिति तोकेको अधिवेशन प्रचार प्रसार समितिका संयोजक तथा एमाले मकवानपुरका प्रचार विभागका प्रमुख ध्रुबप्रसाद चौलागाईले बताउनुभयो ।

बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितीहरु निर्माण गरेको छ । राजनीतिक तथा संगाठनिक प्रतिवेदन लेखन संयोजकमा एकालाल श्रेष्ठ, मञ्च व्यवस्थापन संयोजकमा लालबहादुर थापा, प्रतिनिधि व्यवस्थापन संयोजक नवीन सिग्देल, अतिथि सत्कार संयोजकमा सीता विष्ट, आर्थिक व्यवस्थापन संयोजक हिदम लामा, प्रचार प्रसार संयोजक ध्रुबप्रसाद चौलागाई, आर्थिक प्रतिवेदन, बजेट र कार्ययोजना संयोजक इन्द्र नेपाल, स्वयंसेवक परिचालन संयोजक सुनिल मोक्तान, खाना व्यवस्थापन संयोजक फुर्वा दोर्जे लामा, स्वास्थय सेवा समिति संयोजक जुना दाहाल, जनसांसकृतिक समिति संयोजक मेम्बर लो र सचिवालयको संयोजकमा राजन थापालाई जिम्मेवारी दिइएको छ ।

जिल्लाभरका २५ सय प्रतिनिधि र स्वयंसवकहरुको उपस्थिति रहने अधिवेशनको प्रतिनिधि चयन एकै दिन जेठ ७ गते हुने प्रचार संयोजक चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित